| मङ्लबार, कार्तिक २४, २०८३

विद्यमान राजनीतिक निकासका लागि गोरखाका नेतृत्वको राय

प्रतीक्षा आले ।
गत सोमबार र मंगलबार राजधानी काठमाडौँ लगायत देशभर भएको जेनजीको प्रदर्शनमा ज्यादै अप्रिय घटना घटे । सोमबार भएको नरसंहार तथा मंगलबार भएको भौतिक संरचना क्षतिपछि राजनीतिक संकटसमेत देखाप¥यो ।

यो परिस्थितिमा उत्पन्न राजनीतिक संकटलाई लोकतान्त्रिक ढङ्गले समाधान गर्न गोरखाका नेतृत्वहरुको सुझाव छ । मुलुक असंवैधानिक ढङ्गले प्रतिगमनतर्फ जान लागेको भन्दै नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्ला नेतृत्वले संविधानभित्रबाट लोकतान्त्रिक पद्धतिले समस्याको समाधान खोज्नुपर्ने सुझाव दिएका हुन् ।

किशोरजंग थापा (सचिव, नेपाली काङ्ग्रेस गोरखा)जेन–जीले २३ गते विभिन्न मागहरुसहित आन्दोलन सुरु गरेका थिए । तर, आन्दोलनको क्रममा राज्यपक्षबाट जुन चरम दमन भयो त्यो गलत छ । विद्यार्थीहरुको हत्या, उनीहरुमाथि भएको चरम दुव्र्यवहार, सर्वजनिक सम्पत्ति तोडफोड, सरकारी संरचनामाथि आगजनि जस्ता क्रियाकलाप अस्वीकार्य छ । यस्ता घटनामा संलग्न जोकोहीलाई छिटोभन्दा छिटो छानबिन गरेर कारबाही गर्नुपर्छ । देशमा संविधान छ । वर्तमान सरकार ढलेको हो, संविधान ढलेको होइन् । लोकतन्त्रको विकल्प लोकतन्त्रबाहेक अरु केही हुन सक्दैन् । त्यसैले जेन–जीको माग संविधान भित्रबाटै खोज्नु पर्दछ ।

रामशरण बस्नेत (इन्चार्ज, नेकपा एमाले गोरखा)
देशमा अहिले निकै दुखद घटना घटेको छ । २३ र २४ गतेको घटनाले ठूलो जनधनको क्षति भएको छ । अब यसको निकास संविधानभित्रबाटै खोज्नुपर्छ । संसद विघटन संविधान विपरीतको कुरा हो । अहिलेको परिस्थितिमा निर्वाचित सदस्यहरुमध्यबाटै कोही एकलाई प्रधानमन्त्री बनाएर अघि बढे राम्रो हुन्छ ।

अमर तमु (इन्चार्ज, माओवादी केन्द्र गोरखा)
२३ गते जेन–जी समूहले जुन मागसहित आन्दोलन गरेको थियो त्यो ठिक थियो । तर, त्यसपछि राज्यले उनीहरुमाथि गरेको दमन गलत छ । २४ गते सार्वजनिक सम्पतिमाथि जुन आक्रमण भएको छ त्यसले देशलाई ५० वर्ष पछाडि धकेलेको छ । वर्तमान सरकारको समाधान संसदभित्रैबाट हुनुपर्छ । बरु नयाँ सरकारले जेन–जी पुस्ताको मागलाई पनि समावेश गरेर संविधान पुनर्लेखन गरोस् तर संसद विघटन हुनुहुँदैन् । जेन–जी पुस्ताले उठाएका विषयहरु सुशासन र भ्रष्टचार बिरुद्ध छानबिनको विषय ठिक छ, त्यो कार्यान्वयन हुनुपर्छ । तर, वर्तमान व्यवस्थालाई संविधान भङ्ग गरेरभन्दा पनि संविधानलाई टेकेर अन्तरिम सरकार बनाउनुपर्छ ।

यादव बस्नेत (अध्यक्ष, नेकपा(एस)गोरखा)
जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहान्छु । २०४६ सालमा प्रजातन्त्र प्राप्तिदेखि वर्तमान नेतृत्वले गर्दै आएको क्रियाकलाप निष्पक्ष, पारदर्शी र जवाफदेही थिएनन् जसका कारण, युवावर्ग सरकारप्रति असन्तुष्ट थिए । हुँदै जाँदा सरकारले एक्कासी सामाजिक सञ्जाल निष्क्रिय बनायो जसको फलस्वरुप यो जेन–जी आन्दोलन सुरु भएको हो । अन्दोलनका क्रममा सरकारले नवयुवाहरुमाथि बर्बर दमन ग¥यो । जेन–जी आन्दोलन भैरहँदा हाम्रो अपेक्षा अब देशमा भ्रष्टाचार अन्त्य होला भन्ने थियो तर २३ गतेको घटनाको फलस्वरुप २४ गते अकल्पनीय घटना घट्यो । हाम्रा सबै सार्वजनिक सम्पत्तिहरु खरानी भए ।

२४ गते सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय लगायत विभिन्न सरकारी तथा निजी सम्पत्तिहरुमा आगजनी भएका छन् । त्यो कहिले धोएर नजाने र सच्याएर नसच्चिने घटना हो । यो घटनाको दोष जेन–जी ग्रुपमाथि छ । अब संविधानको अधिनमा बसेर अहिलेको परिस्थितिको निकास खोज्नुपर्छ । अन्दोलनरत्त समूहलाई पनि सम्बोधन गरेर नयाँ विकल्प खोज्नु पर्दछ नत्र नेपालले अन्तर्राष्ट्रिय हस्तक्षेप व्यहोर्नु पर्ने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्