
गोरखाको जनजीवन सामान्य बन्दै
जेनजीको आन्दोलनपछि बिषम बनेको देशभरको जनजीवनसंगै गोरखाको जनजीवन पनि सामान्य बन्दै गएको छ । कफ्र्यु र निषेधाज्ञा हटेसंगै बिहिबार साँझबाट बजारमा चहलपहल सुरु भएको हो ।
खाद्यान्न लगायतका केही पसलहरु खुल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयले बिज्ञप्ती जारी गर्दै बिहिबार साँझ ६ बजेसम्म सर्वसाधारणलाई हिडडुल तथा आउजाउमा कडाइ गरेको थियो । एम्बुलेन्स, शव बाहन, दमकल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका सवारी साथै तरकारी, खाद्यान्न, दुध, पानी र औषधी ओसारपसार गर्ने सवारी सधान चल्न दिएपनि अन्य सवारी संचालनमा रोक लगाइएको थियो ।
त्यस्तै पाँच जनाभन्दा बढी संख्यामा भेला भएर बस्न र सभा, सम्मेलन एवं जुलुस गर्न निषेध गरिएको थियो । साँझ ६ बजेपछि बजारमा सर्वसाधारणको चहलपहल सुरु भएको छ, । अवस्था सामान्य बन्दै गएकाले कफ्र्यू र निषेधाज्ञाका थप कार्यक्रमहरु तत्काललाई नभएको प्रशासन कार्यालयले जनाएको छ ।




