
प्रचण्डलाई पालुङटारवासीले चुनावी एजेण्डा सम्झाए, उनले आश्वासन बाँडे
मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान लिएर गोरखा आइपुगेका पुष्पकमल दाहाल प्रचण्डलाई पालुङटारवासीले चुनावअघि गरेका वाचा पुरा गर्न आग्रह गरेका छन् । प्रचण्डको चुनावी एजेण्डा बनेको पालुङटार एयरपोर्ट, औद्योगिक क्षेत्र, बुढीगण्डकी जलबिद्युत आयोजनाको काम अघि बढाउन स्थानीयले माग गरे ।
आफूले गरेका वाचा पूरा गर्ने आश्वासन दिदै प्रचण्डले पालुङटार एयरपोर्टलाई कुनै न कुनै हिसावले संचालन गर्ने तयारी भइरहेको बताए । ‘निर्वाचन बेला मैले यो एयरपोर्ट संचालन गर्ने वा पाइलटको तालिमका लागि एउटा ठाउँ बनाउने भनेको थिए,’ उनले भने, ‘यो बिषयमा छलफल चलिरहेको छ निष्कर्षमा पुगेको छैन ।’ कुनै न कुनै हिसावले यसलाई संचालन गर्ने लक्ष्य कायम नै रहेको उनले जानकारी दिए ।
पालुङटारको च्याङ्लीमा औद्योगिक क्षेत्र निर्माणका लागि पनि पहल भइरहेको उनले बताए । सो क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्न चीनसँग सैद्धान्तिक सहमति गरेको स्मरण गराउँदै उनले भने, ‘म प्रधानमन्त्रीको रुपमा चीन भ्रमण जाँदा च्याङ्लीमा औद्योगिक क्षेत्र निर्माण गर्ने भनेर सैद्धान्तिक सहमति गरेको थिए, एक चरण छलफल पनि भइसकेको छ तर हामीले सरकार छाडेपछि त्यो अवरुद्ध भयो ।’ सैद्धान्तिक सहमति अनुसार सहयोग गर्न सरकारलाई आग्रह गरिएको उनले जानकारी गराए ।
बुढीगण्डकी परियोजना कुनै हालतमा नरोकिने उनले जिकिर गरे । हालसम्म करिव ५० अवै खर्च भइसकेको भन्दै उनले स्रोत सुनिश्चित गरेर निर्माण प्रक्रिया बघि बढाउने बताए । बेनिघाटदेखि लार्के सम्मको सडक निर्माणका लागि थप बजेट माग गरिएको उनको भनाइ छ । उनले भने, ‘बेनिघाटदेखि लार्केसम्मको बाटोलाई यो बर्ष परेको बजेट एकदम कम छ, तीन करोडलाई कम्तिमा १५ करोड बनाउन सकिन्छ भनेर म लागि परेको छु । असोज कात्तिकपछि त्यो रकम प्राप्त हुन सक्छ ।’ निर्वाचन क्षेत्रमा आउजाउ कम भएपनि गोरखाको बिकासको बारेमा आफूले बढी समय खर्चने गरेको उनले बताए ।




