
चुम उपत्यका तीनदिनदेखि विद्युत, फोन, इन्टरनेटबिहिन
शिव उप्रेती
गोरखा ः गोरखाको दुर्गम गाउँ छेकम्पार बिगत तीनदिनदेखि विद्युत, टेलिफोन र इन्टरनेटबिहिन भएको छ । चुमनुब्री गाउँपालिका वडा नं. ७ का सबै गाउँबस्तीमा गत आइतबार बिहानदेखि विद्युत, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको स्थानीय दोर्जे लामाले जानकारी दिए ।
‘आइतबार बिहानदेखि कादुरी संस्थाले बनाएको लघु जलविद्युत आयोजनाको पावर हाउस बिग्रिएछ । विद्युत उत्पादनै बन्द भयो’, लामाले टेलिफोनमा भने, ‘त्यसपछि वडा नं. ७ को सबै ठाउँबस्तीमा बत्ती छैन । पावरहाउसबाट लगेको बत्तीले मोबाइलको टावर चलेको थियो । बत्ति नभएपछि टावर पनि चलेन । इन्टरनेट पनि सबै बन्द भयो ।’ गाउँ सञ्चार सम्पर्कबिहिन भएपछि आफूले न्याकस्थित टावरले सेवा दिने डाँडामा गएर फोन गरेको उनले बताए ।
विद्युत सेवा नहुँदा छेकम, पारो, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी र छुले गाउँका करिब तीनसय घरधुरीका आठसय भन्दा धेरै नागरिक तीनदिनदेखि दियालोको उज्यालोमा बस्नु परेको उनले बताए । ‘विद्युतका प्राविधिकले कादुरी संस्थासंग टेलिफोनमा कुराकानी गर्दा विद्युत उत्पादन गर्ने मेसिनमा खराबी आएको हो भन्ने थाहा भयो । बर्खाको बेला छ । अब कहिले प्राविधिक आउने हो, कहिले बनाएर उज्यालोमा बस्न पाउने हो’, उनले भने, ‘बत्ति नभएपछि मोबाइल, इन्टरनेट केही नचल्ने रहेछ । वाइफाइ नचलेपछि आफन्तहरुसंग कुराकानी गर्न नपाउने, बाहिरको कुरा थाहा नपाउने । हामी दुर्गमबासीलाई साँच्चै अन्धकार पो हुने भयो ।’
गाउँमा विद्युत सेवा नहुँदा गहुँ, जौ, फापर लगायतका अन्न पिस्ने मिल, काठ काट्ने मिल, फापर काट्ने मेसिन, घरायसी विद्युतीय उपकरण चलाउन नपाएको उनले बताए ।
त्यस्तै पालुङ्टार नगरपालिका वडा नं. ९ सिस्नेरी, फेदी टोल पनि बिगत चारदिनदेखि विद्युतविहिन छ । त्यहाँस्थित विद्युत ट्रान्सफर्मरमा खराबी भएपछि गत आइतबारदेखि गाउँलेहरु विद्युत सेवा उपभोग गर्नबाट बञ्चित भएको स्थानीय शिव परियारले जानकारी दिए ।
विद्युत प्राधिकरण गोरखा वितरणकेन्द्र प्रमुख चिजबहादुर गुरुङले केन्द्रमा स्टक ट्रान्सफर्मर नभएकाले नयाँ ट्रान्सफर्मर राख्न अझै केही दिन लाग्न सक्ने बताए ।




