| मङ्लबार, अशोज ५, २०८३

मनास्लु आरोहण गर्न २२४ जनाले लिए अनुमति

यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा मनास्लु हिमाल आरोहणका लागि २२४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागबाट प्राप्त तथ्याङ्कअनुसार ८,१६३ मिटर अग्लो मनास्लु आरोहणका लागि विभिन्न मुलुकका १७ टिमका २२४जनाले अनुमति लिएका हुन् ।

यो तथ्याङ्क शुक्रबारसम्मको हो ।
विभागका अनुसार १६९जना पुरुष र ५५जना महिलाले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन् । उनीहरुबाट नौ करोड ४३ लाख २२ हजार ८६० रुपैयाँ राजस्व संकलन भएको छ ।

यो सिजनमा सबैभन्दा धेरै आरोहीले मनास्लु आरोहण गर्ने गरेका छन् । शुक्रबारसम्म सगरमाथा आरोहणका लागि जम्मा एकजनाले मात्र अनुमति लिएका छन् । ल्होत्से आरोहणका लागि २ जनाले मात्र अनुमति लिएका छन् ।
अरु आरोहीहरुले आठहजार मिटरभन्दा कम उचाइका हिमाल आरोहणको अनुमति लिएका छन् । तथ्यांकअनुसार ७,८५५ मिटर अग्लो नुप्त्से आरोहणका लागि ११ जनाले अनुमति लिएका छन् । ६३९५ मिटर अग्लो ल्यायुल आरोहणका लागि १५ जनाले अनुमति लिएका छन् ।

गतबर्षको यही सिजनमा ४०१ जनाले मनास्लु हिमाल आरोहणको अनुमति लिएका थिए ।
अहिले मनास्लु हिमालमा रोप फिक्सिङ(डोरी टाँग्ने) काम भइरहेको स्थानीय चुमनुब्री गाउँपालिका १ सामागाउँका वीरबहादुर लामाले जानकारी दिए । साथै आरोहीहरु सामागाउँमा आइपुग्न थालेका छन् । यहाँ लम्जुङ, मनाङ हुँदै लार्केपास गरेर आउने आरोहीको संख्या धेरै हुने गर्छ । कोही हेलिकोप्टरबाट पनि आउने गर्छन् ।

विभागको तथ्याङ्क सबैभन्दा धेरै आरोही चीनका ४३ जनाले अनुमति लिएका छन् । पोल्याण्डका २५, रुसका २३, नेपाली आरोही २३, अमेरिकाका १६, जापानका १३, फ्रान्सका १२ क्यानडाका १० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका निर्देशक एवं सूचना अधिकारी लीलाधर अवस्थीले शरद ऋतुका लागि अनुमति लिन आउने आरोहीहरू विस्तारै बढ्ने बताएका छन् । ‘बल्ल सिजन सुरु भएको छ । अब केही दिनमै धेरै आरोहीहरू अनुमति लिन आउँछन् ।’
यसअघि गतबर्ष यो सिजनमा मनास्लु आरोहणका लागि ४०१ जनाले अनुमति लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्