| सोमवार, कार्तिक २३, २०८३

बेनिघाट–लार्के सडक १० दिनदेखि अवरुद्ध

उत्तरी गोरखाको प्रवेशद्धार बेनिघाट लार्के सडक बिगत १० दिनदेखि अवरुद्ध छ । नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट–लार्के सडकको तातोपानी खण्डमा झरेको ठूलो पहिरो अहिलेसम्म नपन्छ्याउँदा चुमनुब्री र धार्चेका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।

धार्चे ३ स्थित उहियाको भीरबाट झरेको पहिरोले सडकको जगसमेत बगाएर बूढीगण्डकीमा पु¥याएपछि अहिलेसम्म पुनर्निर्माणको काम सुरु नभएको त्यहाँका निवर्तमान वडाअध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए । गतहप्ताको बिहिबार रातभरको बर्षापछि झरेको पहिरोले बेनिघाट, आरुघाट, लार्के सडक अवरुद्ध भएको हो । सडकमाथिबाट झरेको पहिरोले माछाखोला–जगत सडकखण्डको तातोपानीनेर शुक्रबार बिहानैदेखि सडक अवरुद्ध भएको हो ।

नेपाली सेनाले निर्माण गरेको धार्चे गाउँपालिका ३ स्थित सो सडक अवरुद्ध हुँदा उत्तरी गोरखा आवतजावत गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ बताउँछन् । ‘बिहिबार रातभरि ठूलो पानी परेपछि माथिबाट झरेको पहिरोले बाटो अवरुद्ध भएको हो’, गुरुङले भने, ‘माथिबाट पानी बगेर आइरहेको छ । सडकको सतह पनि पहिरिएर बूढीगण्डकीमा झरेको छ । अब कि जगदेखि ग्याभिन भरेर सडक बनाउनु पर्छ, कि पहरो ब्लास्टिङ गरेर नयाँ ट्रयाक बनाउको बिकल्प छैन । त्यसका लागि कति दिन लाग्ने हो थाहा छैन ।’ सडक मर्मत गर्न भीरबाट बगेर आएको पानी सुक्नुपर्ने उनको भनाइ छ ।

जति मर्मतसम्भार गरे पनि माथिबाट झरेको पानीले फेरि पनि बगाएर लैजाने हुनाले अहिले मर्मत गर्ने योजना नरहेको निवर्तमान वडाअध्यक्ष इन्द्रप्रसाद गुरुङले बताए । ‘यता त बल्ल असार लागेजस्तो छ । दिनहूँ ठूलो पानी परिरहेको छ । मान्छेहरु माथिबाट पहिरो झरे नझरेको हेर्दै जोखिम मलेर पहिरो छिचोलेर हिडिरहेका छन्’, उनले भने, ‘अब पानी पर्न नछोडेसम्म यो सडक मर्मत गरेर कामै छैन ।’

सडक अबरुद्ध भएपछि चुमनुब्री ३ जगतसम्म चल्ने सवारीधान चल्न सकेको छैन । पैदल यात्रुलाई सकस भएको छ । बटुवाहरु जोखिम मलेर हिडिरहेका छन् । सडकमाथि ठूलो ढुंगो अड्किएर बसेकाले जुनसुकै बेला त्यो सडकमा झर्न सक्ने उनले बताए । सडक अवरुद्ध हुँदा धार्चे ३ र चुमनुब्री गाउँपालिकाका सबै वडाका बासिन्दा सदरमुकाम तथा सहरी क्षेत्र झर्नबाट बञ्चित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्