| बुधबार, बैशाख १५, २०८३

६ घर जलेको दुईसातामै थप दुई घर जलेर नष्ट

चुमनुब्री गाउँपालिका २ स्यो गाउँका दुई घर मध्यरातमा जलेर नष्ट भएका छन् । यसअघि सोही नजिकको ल्हो गाउँमा ६ घर जलेर नष्ट भएको दुईसातामै एक्कासी अर्को आगालागीको दुर्घटना भएको हो ।
आगालागीमा परी पेम्बा छिरिङ लामा र लाक्पा नुर्बु लामाको घर जलेर पूर्ण रुपमा नष्ट भएको
प्रहरीले जनाएको छ ।
घरमा मान्छे नबसेको अबस्थामा आगालागी भएकाले मानवीय तथा पशुचौपायाको क्षति नभएको प्रहरीले जनाएको छ । अन्य क्षतिको विवरण आउनबाँकी रहेको छ ।
छोराछोरी काठमाडौँमा पढ्न गएका र घरमा बसोबास गर्ने श्रीमान श्रीमती आफन्तकोमा तथा बारीको गोठमा बसेका बेला घटना भएको निवर्तमान वडाअध्यक्ष पेम्बारिता लामाले जानकारी दिए । घरमा रहेका लत्ताकपडा, भाँडाकुँडा, नगद, गरगहना जलेर नष्ट भएको उनले बताए ।
पर्वको अवसरमा घरमा बत्ती बालेर गएकाले सोही बत्तीबाट आगो सल्किएको स्थानीयको अनुमान छ । घटनास्थलमा प्रहरीचौकी लार्केबाट खटिएका प्रहरी पुगेका र थप अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।
यसअघि सोही वडाको ल्हो गाउँमा आगलागीबाट स्थानीय साम्दुक लामाको दुईवटा घर, छेवाङ रिञ्जिन लामाको, टासी लामाको, उर्गेन लामाको र ताञ्जेन लामाको एकेक वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्