| सोमवार, कार्तिक २३, २०८३

दुर्गमबासी कहिलेसम्म फड्केकै भरमा

मनास्लु पदमार्गमा पर्ने सामागाउँ र साम्दो बीचको बूढीगण्डकी माथि निर्माण गर्न थालिएको झोलुङ्गेपुल बिगत १० बर्षदेखि जीपमात्र बनेर अलपत्र छ । आर्थिक बर्ष २०७२/०७३ मा योजना सम्झौता भएको सो पुलको अहिलेसम्म पुलजीपबाहेक केही काम अघि बढेको छैन ।

सो पुल नबन्दा मनास्लु क्षेत्र भ्रमण गर्ने, लार्केपास गर्ने विदेशी पर्यटक, सामागाउँ र साम्दोगाउँ आवतजावन गर्ने स्थानीय बासिन्दा र तिब्बत सीमाना रुईला जाने यात्रुहरु बूढीगण्डकीमाथिको फड्के तर्न बाध्य छन् । हरेक आर्थिक बर्षको अन्त्यमा कार्यसम्पादनको मूल्याङ्कन गराउँदै सम्बन्धित निकायहरु मिलेमतोमा म्याद थप गर्दै गइरहेका छन् । १० बर्षसम्म अलपत्र भएपछि स्थानीयबासी कि यथासीघ्र पुल निर्माण गर्, कि पुलजीपसमेत भत्काएर आफ्नो जमिन जस्ताको तस्तै बनाइदे भन्ने अवस्था पुगेका छन् ।

यत्तिका लामो समयसम्म पुल अलपत्र हुँदा पनि दुर्गमका बासिन्दाको दुख कसैले देखेको छैन । यसरी दशकौं योजना अलपत्र हुँदा न त योजना सम्पन्न हुन्छ, न त राज्यको पैसा नै बच्छ, न त झोलुङ्गे पुल तरेर सुरक्षितपूर्वक बूढीगण्डकी वारपार गर्ने स्थानीयबासीको सपना साकार बन्छ । यहाँ पुल बनाउन सुरु भएपछि कादुरी नामक विदेशी संस्थाले चुमनुब्रीकै अरु ठाउँमा दुईचारवटा पुल बनाइसकेको छ । सरकारले बनाउन लागेको पुल अलपत्र छ ।

नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले यहाँ पुल बनाउन लागेको हो । २२० मिटर लम्बाइ, तीन मिटर चौडाइ भएको सो पुल डेढबर्षभित्र सम्पन्न गर्ने गरी हरिहरि सर्मिला जेभी कम्पनीले योजना सम्झौता गरेको थियो । त्यहाँ झोलुङ्गे पुल नहुँदा बर्षेनी फड्के बनाइरहनु पर्ने उहिल्यैदेखिको समस्या आजसम्म ज्युँकात्यूँ रहेको छ । सम्बन्धित निकायको ध्यान, चासो यसतर्फ जानु अपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस्