
१० बर्ष बित्यो अझै बनेन पुल
एउटा झोलुङ्गे पुल निर्माण गर्न एक, दुई, तीन वा कति बर्ष लाग्छ ? सहज जवाफ हुनसक्छ, बढिमा दुई बर्ष । प्राविधिक कारणले सम्पन्न हुन नसके अरु एकबर्ष म्याद थप हुनसक्छ । जिल्लाका पहाडी भूभागमा बनेका झोलुङ्गे पुलहरु पनि सरदर दुई वा तीनबर्षभित्र बनिसकेका हुन्छन् तर, मनास्लु पदमार्गमा पर्ने सामागाउँ र साम्दो बीचको बूढीगण्डकी माथिको पुल बिगत १० बर्षदेखि जीपमात्र बनेर अलपत्र छ ।
आर्थिक बर्ष २०७२÷०७३ मा योजना सम्झौता भएर अहिलेसम्म पुलजीपबाहेक केही काम नभएको पूर्व वडाअध्यक्ष वीरबहादुर लामाले जानकारी दिए । सो पुल नबन्दा मनास्लु क्षेत्र भ्रमण गर्ने, लार्केपास गर्ने विदेशी पर्यटक, सामागाउँ र साम्दोगाउँ आवतजावन गर्ने स्थानीय बासिन्दा र तिब्बत सीमाना रुईला जाने यात्रुहरु बूढीगण्डकीमाथिको फड्के तर्न बाध्य छन् ।
आफ्नो कार्यकालमा सुरु भएको योजनाको काम अर्को कार्यकाल बित्दा लाग्दासमेत अलपत्र भइरहेको पूर्व वडाअध्यक्ष लामाले गुनासो गरे । ‘पहिलो चुनाब सकेको दुईबर्ष अर्थात २०७२÷०७३ सालमा सम्झौता भएको सामागाउ र साम्दोगाउँ बीचको बूढी गण्डकी माथिको झलुङ्गे पुल निर्माण सुरू भएको १० बर्ष बित्दा पनि जीपबाहेक अरु काम गर्ने तालसुरै छैन’, उनले भने, ‘हरेक आर्थिक बर्षको अन्त्यमा कार्यसम्पादनको मूल्याङ्कन गराउँदै सम्बन्धित निकायहरुको मिलेमतोमा म्याद थप भइरहेको छ ।’ कि यथासीघ्र पुल निर्माण गर्नुपर्ने, कि पुलजीपसमेत भत्काएर आफ्नो जमिन जस्ताको तस्तै बनाउनु पर्ने उनले चुनौति दिए ।
यत्तिका लामो समयसम्म पुल अलपत्र हुँदा पनि दुर्गमका बासिन्दाको दुख कसैले नदेखेको पूर्व वडाअध्यक्ष लामाले बताए । ‘न त पुल बन्यो, न त राज्यको पैसा नै बच्यो, कठै दुर्गमबासी’, उनले भने, ‘न त झोलुङ्गे पुल तरेर सुरक्षितपूर्वक बूढीगण्डकी वारपार गर्ने सपना साकार बन्यो, न त यसको बिषयमा खबरदारी गर्ने निकाय वा ब्यक्ति नै भेट्यौँ । कठै उत्तरीगोरखाको भोटबासी भोटे ।’ यहाँ पुल बनाउन सुरु भएपछि कादुरी नामक विदेशी संस्थाले अरु ठाउँमा दुईचारवटा पुल बनाइसकेको, तर सरकारले बनाउन लागेको पुल अलपत्र बनेको उनको गुनासो छ ।
नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले यहाँ पुल बनाउन लागेको हो । २२० मिटर लम्बाइ, तीन मिटर चौडाइ भएको सो पुल डेढबर्षभित्र सम्पन्न गर्ने गरी हरिहरि सर्मिला जेभी कम्पनीले योजना सम्झौता गरेको विभागका सबइञ्जिनियर जयप्रकाश गिरीले जानकारी दिए । निर्माण कम्पनीको लापार्बाहीका कारण पुल निर्माणमा ढिलाइ भएको विभागले जनाएको छ ।
त्यहाँ झोलुङ्गे पुल नहुँदा बर्षेनी फड्के बनाइरहनु पर्ने उहिल्यैदेखिको समस्या आजसम्म ज्युँकात्यूँ रहेको वर्तमान वडाअध्यक्ष कर्मा छेवाङ लामा बताउँछन् । ‘हामीले कयौँपटक पुल विभाग धाएको धायै छौँ, तर ल ल भनेर टारिरहेका छन्’, उनी भन्छन्, ‘अब त बनाउँछ कि भन्ने आशा गरेर बसेका छौँ ।’




