
पर्व सुधारका लागि भन्दै भदौमै दशैं
पर्व सुधार लागि भन्दै जिल्लाको विभिन्न ठाउँमा आइतबार महाअष्टमी पूजा गरिएको छ । जिल्लाको सिरानचोक गाउँपालिकाको छोप्राक, गाँखु, चोरकाटे, पालुङटारको खोप्लाङ र गोरखा नगरपालिकाको केही स्थानमा आइतबार अष्टमी पूजा गरेर दशैं मनाइएको हो ।
पर्व समय सुधार राष्ट्रिय समितिको परामर्श अनुसार एक महिना अघि दशैं मनाइएको समितिका गोरखा जिल्ला सचिव किशोर रेग्मीले बताए । सिरानचोक गाउँपालिकाको सबै विद्यालयहरुमा २०६५ सालदेखि दशैं आउनु एक महिना अगाडि नै दशैं मनाउँदै आएको उनले जानकारी दिए ।
‘यो एउटा अभियान हो, त्यही अभियान अनुसार यही भदौ ८ गते घटस्थापना मानेर जमरा राखेका थियौं’ उनले भने, ‘आज (आइतबार) बली चडाएर अष्टकी पूजा गरेका छौँ । मंगलबार दशमी, पालिकाको सबै विद्यालयहरुमा टिका र जमरा लगाएर दशैँ मनाउँछौँ ।’ दशैं मनाउनका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको रेग्मीले जानकारी दिए ।
खगोल विज्ञानलाई आधार मान्ने हो भने २४ घण्टाको एक दिन भनिएपनि ३ दशमलव २७ सेकेण्ड समय अपुग हुन्छ । दिनदिनै समय घट्दै जाँदा ७२ वर्षमा एक दिन कम हुने भएकाले दशैं अघि सरेको पर्व सुधारका अगुवा केशरसिंह बस्नेतले बताए ।




