| सोमवार, कार्तिक २३, २०८३

विद्यार्थीहरुसंग मनलाग्दी शुल्क नलिन नेविसंघको चेतावनी

विद्यार्थीहरुसंग विभिन्न बहानामा अकुत शुल्क लिने प्रचलन बन्द गर्न नेविसंघ गोरखाले सामुदायिक विद्यालयहरुलाई चेतावनी दिएको छ । एसईईको प्रोभिजनल तथा चारित्रिक प्रमाणपत्र प्रदान गर्दा सामुदायिक विद्यालयहरुले एक हजारदेखि पाँचहजारसम्म शुल्क लिइरहेको भन्दै नेविसंघले विज्ञप्ति जारी गरी यस्ता कार्य नगर्न विद्यालयहरुलाई आग्रह गरेको हो ।

नेविसंघ गोरखाका अध्यक्ष शिवहरि तिमिल्सिनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता कार्यलाई स्थानीय सरकारले हस्ताक्षेप गरी ३ दिनभित्र प्रभावकारी कदम अगाडि नबढाएमा नेपाल विद्यार्थी संघले जुनसुकै कदम चाल्ने चेतावनी दिएको छ ।

‘विद्यालयहरुको मनलाग्दी शुल्क असुल गर्ने धन्दा बन्द गराउन नेविसंघ गोरखा टुलुटुलु हेरेर नबस्ने र जुनसुकै कदम अगाडि सार्न बाध्य हुने समेत यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ , ‘मनलाग्दी रुपमा शुल्क लिने कार्य तत्काल बन्द गर्न जिल्लाका सबै स्थानीय तहरुलाई आग्रह गरिन्छ । चारित्रिक प्रमाणपत्रको लागि स्थानीय तहले न्युनतम शुल्क तोकी स्वेच्छाचारी शुल्क लिने कार्य अविलम्ब बन्द गराउन समेत नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति गोरखा अनुरोध गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्