| सोमवार, कार्तिक २३, २०८३

संकटग्रस्त अबस्थामा गोरखाका कुसुन्डा परिवार

प्रतीक्षा आले ।
साउन महिना गाउँले किसानहरुलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धानको रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा । गोरखा नगरपालिका वडा नं ११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्ने ५५ वर्षका चेतबहादुर कुसुन्डालाई भने न रोपाईको ध्याउन्न, न त बारीमा मकै सुक्ला भन्ने पिर । आफूजस्तै दिनरात श्रम गरेर खाने दौतरीहरुसँग उनको समय बित्छ ।

लोपोन्मुख भनेर चिनिने कुसुण्डा जातिको गोरखामा एक घर मात्र छ । चेतबहादुर छिमेकीले दिएको तीन आना जग्गामा एकपाखे घर बनाएर आफ्ना दुई छोरा, बुहारी र नातानातिनीसँग बस्छन् । घरले चर्चेकोबाहेक कत्तिपनि जग्गा नभएका उनलाई असार, साउन आए पो के, कात्तिक, मंसीर आए पो के । ‘थुक्ने जग्गा पनि आफ्नो छैन’, उनी भन्छन्, ‘सम्पति भने पनि जे भने पनि यही अरुले दिएको जग्गामा सरकारले बनाइदिएको सानो घर र दुईचार वटा कुखुरा छ । त्यत्ति हो । कुखुरा पनि थुनेर पाल्छौँ । नत्र अरुको जग्गामा गइहाल्छ ।’

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा समुदायको जनसङ्ख्या २५६ रहेको छ । जसमध्य गोरखाका चेतबहादुर कुसुन्डाको आठ सदस्य पनि यहीभित्र पर्छ । उनको परिवार विगत ४५ वर्षदेखि गोनपा–११ स्थित तेह्रकिलोमा बसोबास गर्दै आइरहेका छन् ।

उनी २०३८ सालमा आफ्नी आमा सुमित्रा वनकीरानी कुसुन्डासँग तेह्रकिलो आएका थिए । आफू ११ वर्षको हुँदा पालुङटारको खोप्लाङबाट झिटीझाम्टो बोकेर तेह्रकिलो आएको चेतबहादुर बताउँछन् । ‘१० वर्षको हुँदा बा बिते, भोकले लखतरान हुँदै जुठो बारेको याद छ । बा’को काजकिरिया सकेपछि आमाले खोप्लाङमा भएको झिटी आठ हजारमा बेचेर यहाँ आएका हौँ’, उनले भने, ‘यहाँपनि बिरालोले बच्चा सारेजस्तो, कहिले यता, कहिले उता । सायद यो तेह्रकिलो बजारमा हामी नबसेको घरै छैन् । अब अरुको घरमा भाडा गरेर बसेपछि ‘छोड्दे, अन्तै जा’ भनेपछि जानै प¥यो ।’

सुमित्रा वनकीरानी कुसुण्डाले चेतबहादुर र दुई छोरीलाई कहिलेको यता, कहिलेको उता सारेको कष्टकर दिनको सम्झँदा चेतबहादुर अहिले पनि गम्भीर हुन्छन् । दिदीबहिनी दुवैले तेह्र किलोबजारमा बिहे गरेकाले आफूहरु पनि दिदीबहिनी नजिकै बस्न आएको उनले बताए । ‘दुवैजनाले क्षेत्रीसँग बिहे गरे छन् । दिदीको बुढा ड्राइभर थिए, हामी पनि दिदीकै रेखदेखमा यहीँ बस्न आयौँ । यहाँ आएको केही समय म पनि भेनाकै पछि लागेर खलाँसीको काम गरेँ’, उनले भने ।

खोप्लाङ छोडेर तेह्रबिलो झरेको केही समयपछि आफूहरु नवलपरासी पनि पुगेको उनी बताउँछन् । उनी भन्छन्, ‘यहाँ बस्न आएको केही समयपछि आमाले कताबाट त्यहाँ सरकारी जग्गा मिल्छ भन्ने सुनेछ । हामी आमा छोरा त्यहाँ जग्गा पाइन्छ कि भनेर नवलपरासी पनि झ¥यौँ । जग्गा त केको मिल्थ्यो बरु उल्टै दुख मिल्यो । आमाले अरुको घरमा काम गर्थिन् । सानो झुप्रो हालेर बसेका थियौँ । मलाई भने त्यहाँ खासै बस्न लागेन अनि एक वर्षपछि तेह्रकिलोमै फर्कियौँ । आमा पनि म यहाँ आको केही वर्षपछि फर्किइन् ।’

चेतबहादुरले २०–२२ वर्षको उमेरमा नजिकैको पन्ध्रकिलो बस्ने कमला घर्तीसँग बिहे गरे । बिहेपछि दुईपटक कतार र एक पटक साउदी पनि पुगे । चेतबहादुर र कमलाको दुईभाई छोरा र एक छोरी छिन् । उनीहरुको जेठो छोरो अनिल कुसुन्डा हाल ३२ वर्षका भए । ड्राइभर पेशा गर्छन् । अनिलले भच्चेककी बिमाया गुरुङसँग बिहे गरे । उनीहरुको दुईभाई छोराहरु छन् ।
अनिल मुनिको छोरी अनिता कुसुन्डाले भने तेह्रकिलोकै मगर समुदायकी चेलीसँग बिबाह गरेका छन् । कान्छो छोरो २८ वर्षका अशोक कुसुन्डा हाल बैदेशिक रोजगारीमा छन् । भोगटेनीकी आशा गुरुङसँग विवाह गरेका अनिलको एक छोरा र एक छोरी छन् ।

हाल परिवारमा दुई छोरा, बुहारीहरु, तीनजना नाति र एक नातिनी रहेको चेतबहादुर बताउँछन् । ‘बुडिया बितेको त चार वर्ष भयो । आमा पनि पोहोरको चैतमा खसेकी हुन्’, उनले भने, ‘आफन्तको नाममा दिदीबहिनी र ससुराली छन् । आमाको माइती लमजुङको भोटेओडार हो । मेरो मावली भारती थरका हुन् । मावली टाढा भयो, आउजाउ छैन ।’

आफ्नो तीनैजना छोराछोरीले ४–५ कक्षा पढ्दै छोडेको उनले बताए । ‘नपढ्नीलाई जति कराए पनि लागेन तिन्टैले पढेनन् । सानैमा बिहे गरेर अहिले छोराछोरीको धनी भएका छन्’, उनले भने, ‘म पनि अक्षर फुटाउन जान्दिनँ । छोराछोरीले के पढ्थे ।’ सरकारले उनको आठ जना परिवारलाई प्रतिव्यक्ति मासिक चारहजारका दरले भत्ता दिँदै आएको छ ।

हाल बस्दै आएको एकपाखे घर पनि जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएको उनले बताएका छन् । आफू १० वर्षको हुँदा बितेका बुबा गनबहादुर कुसुन्डा को थिए ? कहाँबाट आएका थिए ? र उनको परिवार को हुन् भन्नेबारे चेतबहादुर बेखबर छन् । उनलाई न कुसुन्डाको भाषा थाहा छ, न रीतिरिवाज, न त भेषभुषा नै । न उनले अन्यत्रका कुसुण्डा समुदायसंग चिनजान, आउजाउ गरेका छन् । गोरखा दरबार सङग्राहलयमा आफ्नो जातिको डमी राखेको देखेर भने उनी खुशी छन् ।

‘अन्ततिरको कुसुन्डाहरुले त आफ्नै भाषा बोल्छन् रे भन्ने सुनेको छु । अब हामीलाई त केही थाहा छैन । बाउबाजेसँग संगत भएको भए पो आफ्नो जात, धर्म, संस्कृतिको बारेमा केही थाहा हुन्थ्यो होला’, उनले भने । आफूहरुले अरु हिन्दुहरु सरह नै सबै चाडपर्व मनाउँदै आएको चेतबहादुरले बताए । उनी भन्छन्, ‘दसैँ, तिहार सबै मनाउँछौँ । अरुहरुले सरह नै हरेक वर्ष वायु पूजा, कुलायन पूजा पनि गर्छौँ । हाम्रो कुलायन पूजामाचाँहि भाले चढाउनु पर्छ ।’

सरकारले लोपोन्मुख कुसुन्डा जातिको उत्थान र संरक्षणका लागि केही पनि पहल नगरेको चेतबहादुरको गुनासो छ । उनकै शव्दमा ‘थुक्ने जग्गा’ समेत नभएका उनीहरुलाई सरकारले उचित बासस्थानको व्यवस्था मिलाउनुपर्ने माग उनको छ ।

प्रतिक्रिया दिनुहोस्