| सोमवार, कार्तिक २३, २०८३

चुमनुब्रीका तीनवडाका ९० जना हेपाटाइटिस बीबाट संक्रमित, १६८१ जनालाई लगाइयो खोप

उत्तरी गोरखाका तीन वटा वडाका ९० जना हेपाटाइटिस बीबाट संक्रमित भएको पाइएको छ । हिमाल पारिको चुमनुब्री गाउँपालिका वडा नं. ३ सिर्दिबास, वडा नं. ४ प्रोक र वडा नं. ५ बिहीमा गरिएको रोग परीक्षण तथा खोप अभियानका क्रममा ठूलो संख्यामा संक्रमित भेटिएको खोप शिविर संचालक वाङचुक राप्तेन लामाले जानकारी दिए ।

वडा नं. ४ र ५ मा सोमबार सम्पन्न भएको १० दिने खोप शिविरमा ९२३ जनामा गरिएको परीक्षण(स्क्रिनिङ) मा ३७ जनामा हेपाटाइटिस बी पोजेटिभ देखिएको उनले बताए । यसअघि वडा नं. ३ मा सञ्चालित परीक्षण तथा खोप शिविरमा चौधसय ४७ जनामा गरिएको परीक्षणमा ६३ जनामा हेपाटाइटिस बी संक्रमण पुष्टि भएको थियो ।

गाउँपालिकासंग समन्वय गरेर किमोलुङ फाउण्डेशनले हेपाटाइटिस बी संक्रमितको खोजी तथा खोप अभियान सञ्चालन गरेको थियो । तीनवटा वडामा सञ्चालित सो अभियानमा सोह्रसय ८१ जनालाई खोपसमेत लगाइएको फाउण्डेशनका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले जानकारी दिए ।

उनका अनुसार वडा नं. ५ बिहीका ४९७ जनामा हेपाटाइटिस बी संक्रमण भए नभएको परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्य २८ जनामा पोजेटिभ देखिएको लामाले जानकारी दिए । सो वडामा १६ बर्ष उमेर कटेका ३१५ जनालाई हेपाटाइटिस बीविरुद्धको खोप लगाइएको अध्यक्ष लामाले जानकारी दिए ।

त्यस्तै वडा नं. ४ मा सञ्चालन गरिएको स्क्रिनिङ तथा खोप शिविरमा ४२६ जनाको स्क्रिनिङ गरिएको थियो । परीक्षण गरिएकोमध्य त्यहाँ ९ जनामा पोजेटिभ भेटिएको थियो । सो वडामा १६ बर्ष कटेका ३२६ जनालाई खोप लगाइएको लामाले बताए ।
त्यस्तै वडा नं. ३ मा सञ्चालन गरिएको स्क्रिनिङ तथा खोप शिविरमा चौधसय ४७ जनाको स्क्रिनिङ गरिएको थियो । परीक्षण गरिएकोमध्य त्यहाँ ६३ जनामा पोजेटिभ भेटिएको थियो । सो वडामा १६ बर्ष कटेका एकहजार ४० जनालाई खोप लगाइएको लामाले बताए ।

गोरखाको हिमाली तथा उच्च पहाडी भेगमा हेपाटाइटिस बीको संक्रमण बिकराल बन्दै गएपछि किमोलुङ फाउण्डेशनका अध्यक्ष लामाले जानकारी दिए ।
वैदेशिक रोजगारीमा जाने क्रममा गरिने स्वास्थ्य परीक्षणको क्रममा त्यहाँका स्थानीयमा बढी मात्रामा हेपाटाइटिस ‘बी’ को संक्रमण देखिएर रोजगारीमा जान नपाउने गरेको किमोलुङ फाउन्डेशनका अध्यक्ष लामाले बताए । समस्याको न्यूनिकरण गर्ने उद्देश्यले शिविर आयोजना गरिएको उनले बताए ।

असुरक्षित यौन सम्पर्क, रोगी महिला–पुरुषको शरीरबाट निस्कने विभिन्न तरल पदार्थहरुको सम्पर्क, वीर्य, ¥याल, पसिना, आँसु, पेटभित्रका रसहरू, रगतको माध्यम र रोगी आमाबाट जन्मेका बच्चाहरूमा हेपाटाइटिस ‘बी’ सर्छ । धेरैजसो वंशाणुगत हेपाटाइटिस रहेको हुन सक्ने चुमनुब्रीका स्वास्थ्य शाखा प्रमुख गुरुङ बताउँछन् । हेपाटाइटिस संक्रमण भएका बिरामीमा कुनै अर्को रोगले आक्रमण गरेमा ज्यानै जानसक्ने अधिक सम्भावना रहने स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्