| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य शिविरको नाममा धर्म प्रचार ! शिविर रोक्न प्रशासनको निर्देशन

गोरखा नगरपालिका–१० छेवेटारस्थित गोरखा मेमोरियल अस्पतालले स्वास्थ्य शिविरको नाममा धर्म प्रचार गरेको भन्दै चौतर्फी आलोचना भएको छ । शिविर संचालनबारे जानकारी दिदै अस्पतालले जारी गरेको पत्रमा क्रिश्चियन धर्मावलम्वीहरुलाई अस्पतालको सेवामा ५० प्रतिशत छुट दिने व्यहोरा उल्लेख भएपछि आलोचना सुरु भएको हो ।

अस्पतालले यही मंगलवार स्त्री रोग, हाडजोर्नी लगायतका बिरामीको निशुल्क चेकजाँच गर्ने भन्दै अनुग्रह मण्डलीलाई गरेको पत्र बाहिरिएको हो । निशुल्क भिडियो एक्स–रे समेत उपलब्ध हुने भन्दै गरिएको पत्राचारमा मण्डलीका ३५ बर्ष माथिका प्रत्येक बिश्वासीलाई अस्पतालको बिशेष छुट हुने र ५० प्रतिशत छुट कार्ड उपलब्ध गराउने कुरा उल्लेख भएपछि आलोचना भएको हो । यसरी बिशेष छुट भनि स्वास्थ्य सेवाको नाममा धर्म प्रचार गरेको भन्दै बिरोध समेत हुन थालेको छ ।

चौतर्फी आलोचना भएपछि प्रशासनले शिविर संचालनमा रोक लगाएको छ । विना अनुमति शिविर संचालन गर्न लागेको भन्दै रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । मण्डलीका ३५ बर्ष माथिका प्रत्येक बिश्वासीलाई अस्पतालको सेवामा ५० प्रतिशत छुट कार्ड उपलब्ध गराउने भनी पर्चा भेटिएको भन्दै त्यसबारे पनि आवश्यक छानविन गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्