| आइतवार, कार्तिक २२, २०८३

लिजामा पालुङटार र भीमसेनथापा उत्कृष्ट, गोरखा नगरपालिका सबैभन्दा कमजोर

गोरखाको पालुङटार नगरपालिका र भीमसेनथापा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (लिजा) को नतिजामा जिल्लामा उत्कृष्ट बनेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (लिजा) को गुणस्तर परीक्षणसहितको अन्तिम नतिजा अनुसार जिल्लाका ११ पालिकामध्य दुई पालिकाले सबैभन्दा बढी अङ्क प्राप्त गरेका हुन् ।

पालुङटार नगरपलिका र भिमसेनथापा गाउँपालिकाले समान ८७.७५ अंक प्राप्त गरेर जिल्लामै उत्कृष्ट बनेका भीमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र अधिकारीले बताए । यससँगै दुबै पालिका गण्डकी प्रदेशमै तेस्रो स्थानमा परेका छन् । लिजाको जिल्लास्तरिय नतिजामा सबैभन्दा कमजोर गोरखा नगरपालिका देखिएको छ । गोरखा नगरपालिकाले ७१.७५ अंक मात्र प्राप्त गरेको छ ।

नतिजा अनुसार अजिरकोट गाउँपाकिा दोस्रो बनेको छ । अजिरकोटले ८६.५० अंक प्राप्त गरेको छ । यसैगरी ८६.२५ अंक प्राप्त गर्दै धार्चे गाउँपालिका तेस्रो बन्न सफल भएको छ । त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाले ८५.५० अंक प्राप्त गरेको छ । शहिद लखन गाउँपालिकाले ८५.२५, सिरानचोकले ८४, गण्डकीले ८३.७५, आरुघाटले ८३.५० अंक प्राप्त गरेको हो । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका लागि विभिन्न विषयक्षेत्रहरु निर्धारण गरेको छ ।

शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजनामा व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सेवा प्रवाह, सहकार्य र समन्वय, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनन गरी १० शीर्षकमा स्थानीय तहको स्वमूल्याङ्कन हुने गरेको छ ।

गाउँ तथा नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धीको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकार बिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्