
हटियाथोक पोखराथोक खानेपानी समितिको अध्यक्षबाहेक कार्यसमिति सर्वसम्मत
हटियाथोक पोखराथोक लिफ्टिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको शनिवार १३ औ साधारण सभा एवं छैठौँ अधिवेशन भएको छ । अधिवेशनबाट अध्यक्षबाहेकका अन्य पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।
बरिष्ठ उपाध्यक्षमा बिना पाठक, उपाध्यक्षमा सरला सिर्मल, महासचिवमा देवेन्द्रजंग कुँवर, सचिवमा दिनेश थापा र कोषाध्यक्षमा पम्फा सिर्मल चयन भएको समितिले जनाएको छ । सदस्यहरुमा कृष्णबहादुर परियार, बुद्धिमाया बराम, अनिल सुनार र कृष्ण गुरुङ रहेका छन् । अध्यक्ष पदमा बाबुराम सिर्मल र इश्वरीप्रसाद लामिछानेले आकांक्षा देखाएका थिए । सर्वसम्मतको प्रयास असफल भएपछि आउँदो शनिवारका लागि निर्वाचन तोकिएको समितिले जनाएको छ ।
समितिका अध्यक्ष सोमबहादुर अच्छामीको अध्यक्षता तथा पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिकी अध्यक्ष सिता खड्काको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्के, समितिका पुर्व अध्यक्ष रामबहादुर अच्छामी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा समिति सचिव बिना पाठक बार्षिक र कोषाध्यक्ष पम्फा सिर्मलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।




