
उत्तरी गोरखामा जटिल बन्दै हेपाटाइटिस बी
चुमनुब्री गाउँपालिका ३ का दानबहादुर गुरुङ(नाम परिवर्तित)ले लामो समय राजधानीमा डेरा लिएर जापानी भाषा पढे । भाषा परीक्षा उतीर्ण पनि गरे । कन्सल्टेन्सीले भिसा प्रक्रिया सुरु ग¥यो । त्यो क्रममा जब मेडिकल रिपोर्ट हात प¥यो, उनको सबै प्रयास व्यर्थ भयो । किनभने उनको रिपोर्टमा हेपाटाइटिस बी पोजेटिभ देखियो ।
उनी मात्र होइन चुमनुब्रीका अधिकांश गाउँ टोलका बासिन्दाहरुमा घातक मानिने ‘हेपाटाइटिस बी’को समस्या बिकराल छ । वडा नं ३ मा मात्र ६३ जनामा ‘हेपाटाइटिस बी’को सङ्क्रमण पुष्टि भएको पालिकाको स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले बताए । गुरुङका अनुसार पालिकाको वडा नं ३ का ३५ महिला र २८ जना पुरुषहरुमा सङ्क्रमण पुष्टि भएको हो ।
हाल चुमनुब्रीको वडा नं ४ र ५ मा हेपाटाइटिस बी विरुद्धको १० दिने खोप शिविर संचालन भईरहेको छ । किमोलुङ फाउन्डेशन नेपालले गाउँपालिकासंग समन्वय गरेर सञ्चालन गरेको शिविरमा संक्रमण भए, नभएको पहिचान गरिएको छ । सो स्क्रिनिङ शिविरमा वडा नं. ५ मा मात्र २८ जनामा संक्रमण पुष्टि भएको फाउण्डेशनका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले जानकारी दिए ।
सो वडाको विभिन्न पाँचवटा खोपकेन्द्रमा गरिएको स्क्रिनिङमा २८ जनामा हेपाटाइटिस बी को संक्रमण पुष्टि भएको लामाले बताए । ‘४९९ जनामा स्क्रिनिङ गरिएकोमा २८ जनामा हेपाटाइटिस बी पोजेटिभ देखियो । उनीहरुमध्य ३१६ जनालाई हेपाटाइटिस बी विरुद्धको खोप दिइएको छ’, उनले भने । पालिकाको वडा नं ५ मा १६ वर्ष मुनिका १८० जनाको परीक्षण गरिएको थियो । पोजेटिभ देखिएका २८ जनालाई खोप दिन नमिल्ने उनले जानकारी दिए ।
सो खोप शिविर सञ्चालन गर्ने टोली हाल वडा नं ४ मा स्क्रिनिङ तथा खोप कार्यक्रमका लागि त्यसतर्फ गइरहेको छ ।
वैदेशिक रोजगारीमा जाने क्रममा गरिने स्वास्थ्य परीक्षणको क्रममा त्यहाँका स्थानीयमा बढी मात्रामा हेपाटाइटिस ‘बी’ को संक्रमण देखिएर रोजगारीमा जान नपाउने गरेको किमोलुङ फाउन्डेशनका अध्यक्ष लामाले बताए । त्यसको न्यूनिकरण गर्ने उद्देश्यले शिविर आयोजना गरिएको उनले बताए ।
असुरक्षित यौन सम्पर्क, रोगी महिला–पुरुषको शरीरबाट निस्कने विभिन्न तरल पदार्थहरुको सम्पर्क, वीर्य, ¥याल, पसिना, आँसु, पेटभित्रका रसहरू, रगतको माध्यम र रोगी आमाबाट जन्मेका बच्चाहरूमा हेपाटाइटिस ‘बी’ सर्छ । धेरैजसो वंशाणुगत हेपाटाइटिस रहेको हुन सक्ने चुमनुब्रीका स्वास्थ्य शाखा प्रमुख गुरुङ बताउँछन् । हेपाटाइटिस संक्रमण भएका बिरामीमा कुनै अर्को रोगले आक्रमण गरेमा ज्यानै जानसक्ने अधिक सम्भावना रहने स्वास्थ्यकर्मीको भनाइ छ ।




