
रासयनिक मल हाहाकार : मागको ६० प्रतिशत मात्र आपूर्ति, किसानहरु कालोबजारीको मल किन्न बाध्य
प्रतीक्षा आले ।
रासयनिक मलको माग वर्षेनी बढ्दो छ । मागअनुसारको आपूर्ति हुनुपर्छ भनेर सडकदेखि सदनसम्म आवाज उठिरहन्छ । तर आपूर्तिको अवस्था सँधै ज्युँका त्यूँ छ । जिल्लाको रासयनिक मलको माग चार हजार मेट्रिकटन छ । तर, मागको जम्मा ६० प्रतिशत मात्र आपूर्ति हुने गरेको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।
केन्द्रका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका लागि चार हजार मेट्रिक टन रासयनिक मल माग गरिएको थियो । जसमध्य जम्मा २८ सय ४२ मेट्रिक टन मात्र मल आपूर्ति भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत विवेक पौडेलले बताए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा पनि चार हजार मेट्रिक टन मल माग गरेकोमा जम्मा २७ सय ५ मेट्रिक टन मात्र आपूर्ति भएको थियो । ‘यो वर्षका लागि पनि चार हजार मेट्रिकटन माग गरेका छौँ । माग अनुसारको आपूर्ति नभएपनि गतवर्ष भन्दा बढेर आउन सक्छ’, उनले भने ।
गोरखामा रासयनिक मलको करिब एक तिहाइ मल अपुग रहेको पौडेलको भनाइ छ । ज्ञान केन्द्रमा प्राप्त मलको कोटा पालिकाहरुको माग र आवश्यकताका आधारमा विभाजन गरेर पठाउने गरेको उनले बताएका छन् । जिल्लामा सबैभन्दा धेरै रासयनिक मलको माग पालुङटार नगरपालिकामा छ । पालुङटारमा बर्षेनी ८५० मेट्रिकटन रासयनिक मलको माग रहेको नगरपालिकाको कृषि शाखा प्रमुख राजु गौतमले बताए ।
माग अनुसारको आपूर्ति भने नभएको उनले गुनासो गरे । ‘आर्थिक वर्ष २०८१/८२ मा ८५० मेट्रिक टन मल माग गरेकोमा जम्मा ३७७.५ मेट्रिकटन(४६ प्रतिशत) मात्र प्राप्त भयो’, उनले भने, ‘हाम्रोमा धान खेती धेरै हुने भएकाले मलको माग बढी छ । तर, किसानहरुले हरेक वर्ष मलको चरम अभाव खेप्नु परेको छ ।’ पालुङटारको १५ सय २० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको उनले जानकारी दिए । यस्तै, ६० प्रतिशत रासयनिक मल धान खेतीमा प्रयोग हुने गरेको उनको भनाइ छ । ‘मलको अभाव हुँदा किसानहरुले हैरान भएर वर्षेनी खेतीयोग्य जमिन बाँझो राख्दै गएको अवस्था छ’, उनले भने ।
गोरखा नगरपालिकामा पनि रासयनिक मलको अभाव अत्याधिक हुने गरेको गुनासो छ । गतआर्थिक वर्ष २०८१/८२ मा ५५० मेट्रिक टन रासयनिक मल माग गरेकोमा जम्मा २९० मेट्रिक टन आपूर्ति भएको नगरपालिकाको कृषि अधिकृत ऋषि रोकाले बताए । माग भन्दा झन्डै आधा कम मल पनि समयमा आपूर्ति नहुने उनको भनाई छ । पालिकाबासीले छिमेकी जिल्लाहरुबाट मल आपूर्ति गर्ने गरेको उनले जानकारी दिए ।
जिल्लाको भीमसेनथापा गाउँपालिकामा वार्षिक ६५० मेट्रिक टन रासयनिक मलको माग छ । पालिकामा माग अनुसारको आपूर्ति हुन नसकेको कृषि अधिकृत शेरबहादुर थारुले बताए । उनका अनुसार समयमा मल नपाउँदा किसानहरु असन्तुष्ट हुने गरेका छन् । किसानहरुलाई रासयनिक मलको प्रयोग बारे सचेत गराउन आवश्यक रहेको उनले जानकारी दिए । ‘मल हाल्दैमा उत्पादन बढ्छ भन्ने हुँदैन । किसानहरुले बालीलाई मल चाहिएको छ, छैन, कुन मल चाहिएको छ भन्ने कुरा बुझ्न जरुरी छ’, उनले भने, ‘हाम्रो उदेश्य माग अनुसारको मल आपूर्ति गर्ने त हो तर किसानहरुले रासयनिक मलको विकल्पमा प्राङ्गरिक मल प्रयोग गरे त्यो नै राम्रो हुन्छ ।’
कृषि ज्ञान केन्द्र गोरखाका कृषि अर्थ विज्ञ सुमन भट्टराईले जिल्लामा मागको जम्मा ६० प्रतिशत रासयनिक मल आपूर्ति हुने गरेको बताएका छन् । माग अनुसारको मल आपूर्ति नहुँदा किसानहरुले महङ्गो मूल्य तिरेर कालोबजारीको मल खरिद गर्न बाध्य भएको उनले जानकारी दिए । ‘मल अभावको समस्या गोरखाको मात्र होइन, यो देशव्यापी समस्या हो’, उनले भने, ‘एक त थोरै कोठा छ अर्को समयमा आइपुग्दैन् । समयमा मल आपुर्ति नहुँदा किसानहरुले लाग्ने भन्दा दोब्बर मूल्य तिरेर कल खरिद गर्नुपर्ने बाध्यता छ ।’
जिल्लामा कालो मलभन्दा युरियाको माग बढी रहेको उनले जानकारी दिए । यद्यपी युरियाभन्दा कालो मल बढी प्रभावकारी रहेको उनले बताएका छन् । ‘युरिया सस्तो छ । आज बिरुवामा राख्यो भने भोलिपल्टै हरियो हुन्छ त्यसैले अधिकांशले युरिया प्रयोग गर्छन् तर यसको जथाभावी प्रयोगले धेरै समस्याहरु निम्त्याउँछ’, उनले भने ।




