| सोमवार, कार्तिक २३, २०८३

जातीय र लैंगिक दुहाइ दिनेहरु, मनिका परियारको मुद्दामा किन मौन

जातीय, लैंगिक समानताको आवाज उठाउने कुनै दिवस आउनासाथ सरोकारवाला संघ संस्थामा आवद्ध प्रवुद्धवर्गले नारा, जुलुस गर्दै सडक तताउने प्रचलन नयाँ होइन । जातीय, लैंगिकसम्बन्धी सैद्धान्तिक मुद्दामा आफूलाई हिमायती भन्नेहरु, अभियन्ता भन्नेहरु आफ्नै काख पोल्टामा यस्तै विषयमा अमानवीय घटना हुँदा भने मौन रहन्छन् किन ?

सहिद लखन गाउँपालिका १ बक्राङकी मनिका परियार अहिले तीन महिनाको छोराको न्वारनसमेत गर्न नपाएर चरम पीडाबोध गरिरहेकी छिन् । मनिका दोजिया भएको थाहा पाएपछि उनलाई ललाइफकाइ बिबाह गरेका मिलन श्रेष्ठ अहिले फरार छन् । त्यसपछि न मिलन पक्षले सुत्केरी खर्च भरेका छ, न बच्चाको न्वारन गरेको छ । पीडित मनिकाले न्याय माग गर्दै मिलनविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएको पनि डेढ महिना बितिसक्यो तर अहिलेसम्म न्याय पाउन सकेकी छैनन् ।

प्रहरी कार्यालयको महिला सेलमा मनिका पक्ष र मिलनको ससुरा पक्ष बीच छलफल कार्यक्रम भएका बेला महिला सेलमा कार्यरत प्रहरीले त्यहाँ उपस्थित पत्रकारहरुलाई मानमर्दन गर्दै निकालेकी थिइन् । छलफल कार्यक्रममा ससुरा पक्षले छोरा मिलनलाई झिकाएर मनिकालाई न्याय दिने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसको भर नलागेर मनिकाले न्याय पाउँ भन्दै जाहेरी दरखास्त पनि दिएकी थिइन् । तर डेढ महिना भयो, आजसम्म प्रहरीले मिलनको खोजी गरेको छैन ।

मनिकाले साथी संगीको प्रयोग गरी मिलन लुकिछिपी बसेको ठेगाना पत्ता लगाइसकेकी छिन्, तर प्रहरीले पत्ता लगाएको छैन ।
सुत्केरी उत्रिने खर्च छैन, नवजात शिशु र सुत्केरीलाई सुरक्षित बासस्थान छैन । पोषिलो खाना, सुरक्षित नाना छैन । न्वारन नभएको भन्दै माइतीले समेत घरभित्र्याएका छैनन् । शिशु बिरामी छ । उपचार गर्ने खर्च अभाव छ । यस्तो जटिल परिस्थितिका बारेमा समाचार संप्रेषण भइरहेका छन्, तर सम्बन्धित निकाय रहस्यमय तरिकाले मौन छन्, जुन स्वभाविक छैन ।

प्रतिक्रिया दिनुहोस्