| सोमवार, कार्तिक २३, २०८३

तीन महिना बित्यो, न बच्चाको न्वारन, न श्रीमान भेटिए

प्रतीक्षा आले ।
जातीय विभेदका कारण घरपरिवारबाट लखेटिएकी गोरखाकी मनिका परियारले छोरा जन्माएको पनि झन्डै तीन महिना बित्यो । सहिदलखन गाउँपालिका वडा नं १ बक्राङकी परियारले गत जेठ १० गते प्रदेश अस्पताल गोरखामा छोरा जन्माएकी थिइन् ।
छोरा जन्मिएको तीन महिना बितिसक्दा पनि न्वारन हुन नसकेको विडम्बना मनिकाको छ ।

हाल उनी बक्राङस्थित माइती गाउँको एउटा सानो झुपडीमा जीवन गुजारा गरिरहेकी छिन् । छोराको न्वारान नहुँदा छरछिमेकीहरुले घरभित्र जान आनाकानी गर्ने गरेको मनिकाको दुखेसो छ । ‘जन्मेको ११ दिनमा गर्नुपर्ने न्वारन आज तीन महिना बित्दा पनि हुन सकेको छैन् । हाम्रोमा छोरीचेली सुत्केरी हुँदा न्वारान नगरेसम्म घरभित्र पस्न मिल्दैन’, उनी भन्छिन्, ‘बच्चाको अहिलेसम्म न्वारन नहुँदा हामीलाई पनि कसैले घरभित्र पस्न दिएका छैनन् । अहिले पनि हामी आमाछोरा छिमेकी काकीले बस्न दिएको झुप्रोमै छौँ ।’

मनिकाले २०८० मंसिरमा धादिङको गजुरी गाउँपालिका–२ छेपाङका मिलन श्रेष्ठसँग विधिवत विवाह गरेकी थिइन् । थर झुक्काएर विवाह गरेका उनीहरु चितवनस्थित कोकाकोला कम्पनीमा काम गर्दथेँ । मिलनको घरपरिवारले आफ्नो बास्तविक जात थाहा पाएपछि घरबाट बहिस्कार गरेको मनिकाले बताएकी छिन् । ‘घरबाट निकाले पनि हामी दुवैजना आफ्नो सुरले चितवनमा काम गथ्र्यौँ । कामकै शिलशिलामा २०८१ बैशाखमा काठमाडौँ गयौँ अनि भदौमा पेटमा बाबु बसिहाल्यो’, मनिकाले भनिन्, ‘बाबु बसेपछि म यतै माइतीमा आएँ, मिलन पनि यतै आयो । यहाँबाट मंसिरमा काम गर्न झापा गएको थियो । त्यसयता सम्बन्ध बिग्रियो । एकफेर फागुनमा घर आको थियो त्यसपछि गाको अहिलेसम्म अत्तोपत्तो छैन । यत्रो बाबु जन्मिँदा पनि हाम्रो खबर दिएन ।’

गाउँलेहरुले सहयोग जुटाएर मनिकाको सुत्केरी खर्च टारेका थिए । त्यसयता वडा कार्यालय, व्यक्ति र विभिन्न संघ संस्थाहरुले उनलाई आर्थिक सहयोग गरेका थिए । सहयोगबाट आएको रकमले नै हालसम्मको खर्च टारेको मनिका बताउँछिन् । सुत्केरी भएको झन्डै दुई महिना बितिसक्दा पनि श्रीमान मिलन श्रेष्ठ सम्पर्कमा नआएपछि मनिकाले गत साउन ५ गते जिल्ला प्रहरी कार्यालय गोरखाका उजुरी दिएकी थिइन् । प्रहरी कार्यालयमा मिलनको परिवारसँग दुई पक्षीय छलफल भएतापनि आफूहरुको अवस्था सुधार नभएको मनिका बताउँछिन् ।

‘प्रहरीकोमा उजुरी पनि दिएँ । मिलनको बुवासँग पनि छलफल भयो । भेटेको बेलामा उहाँहरुले बाबुको हक अधिकार दिन्छौँ भन्नुभएको थियो तर प्रहरीको अगाडि मात्र त्यसो भन्नु भएको रहेछ । हाम्रो अवस्था जस्ताको त्यस्तै छ’, उनले गुनासो गरिन् । श्रीमान मिलन श्रेष्ठलाई छिटोभन्दा छिटो पक्राउ गरेर आफूलाई न्याय दिनुपर्ने माग मनिकाको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भरतबहादुर विकले प्रहरीले मिलनको खोजीकार्य गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्