| सोमवार, कार्तिक २३, २०८३

छिम्केश्वरीको विकासका लागि आँबुखैरेनीमा महायज्ञ गर्ने

आँबुखैरेनी गाउँपालिकाको महत्वपूर्ण धार्मिक स्थल छिम्केश्वरी बुढी देवी मन्दिरलाई बृहत्तर तीर्थस्थलका रूपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ । महायज्ञको आयोजना आउँदो असोज १८ गतेदेखि २५ गतेसम्म आँबुखैरेनी हाटबजार स्थलमा गर्न लागिएको गाउँ पालिका अध्यक्ष शुक्र चुमानले बताए ।

धार्मिक अनुष्ठानमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेलले श्रीमद्भागवत कथा वाचन गर्ने मुल समारोह समितिका संयोजक कृष्णमान तमाङले बताए । महायज्ञमा भक्तजनहरूले धार्मिक प्रवचन, भजनकीर्तन, विधिविधान तथा प्रसाद ग्रहणमार्फत आध्यात्मिक लाभ लिन सक्नेछन् ।

महायज्ञको मूल उद्देश्य छिम्केश्वरी र बुढी देवी मन्दिरलाई व्यवस्थित र आकर्षक धार्मिक स्थलका रूपमा विकास गर्दै स्थानीय पर्यटन प्रवद्र्धन गर्न रहेको गाउँ पालिकाका अध्यक्ष चुमानले बताए ।

प्रतिक्रिया दिनुहोस्