| सोमवार, कार्तिक २३, २०८३

गुम्दामा आलु मेला सुरु

अतिथिहरुलाई आलूकै माला, आलु खाने प्रतियोगिता, बिजेताहरुलाई आलुकै पुरस्कार,अरु खेलका बिजेताहरुलाई पनि पाथीका पाथी आलु, स्टलमा पनि आलुकै परिकार यो हो गुम्दामा आयोजित आलु मेलाको विशेषता ।

यो मेला सोमबारदेखि धार्चे गाउँपालिका ५ गुम्दामा सुरु भएको छ । मेलाको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले उदुघाटन गरेका हुन् । गुम्दा एकता युवा क्लव र थामरा धार्चे युवा क्लवले आयोजनामा ‘आलु मेला २०८२’ सुरु भएको हो । ‘अग्रज स्रष्टा र खेलाडीको सम्मान, कला, संस्कृति, पर्यटनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मेला सुरु भएको आयोजकले जनाएको छ ।

ऐतिहासिक आलु मेलामा जिल्लास्तरीय अन्तर क्लव पुरुष र महिला भलिबल प्रतियोगिता तथा स्थानीय स्तरमा उत्पादन भएका आलु प्रदर्शनसँगै विविध साँस्कृतिक कार्यक्रम हुने क्लवका अध्यक्ष मनुराज गुरुङले बताए । मेलामा हुने पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने टिमले क्रमश रु ७५ हजार, ५० हजार र ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने उनले बताए ।

महिला भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने टिमले क्रमश रु २० हजार, १० हजार र ७ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । प्रतियोगितामा पुरुष र महिला भलिबल प्रथम, दोस्रो र तेस्रो हुने सबै टिमलाई तीन/तीन पाथी आलु समेत दिइने अध्यक्ष गुरुङले बताए । भलिबल प्रतियोगिताका लागि महिला तर्फ ७ टिम र पुरुष दुबै तर्फ २० टिम दर्ता भएका अध्यक्ष गुरुले बताए । दर्ताको क्रम जारी रहेको उनको भनाई छ ।

पहिलो दिन महिला तर्फ तीन खेल सम्पन्न भएको अध्यक्ष गुरुङले जानकारी दिए । साथै चुड्का, झाँक्री, मारुनी, लामा नाँच तथा आमा तथा महिला समूहहरुले संस्कृतिक झाँकीहरु प्रर्दशन गरेका थिए । मेलामा लोक नृत्य प्रतियोगितामा पनि आयोजना हुनेछ । प्रतियोगिताको मुख्य आकर्षण आलु खाने प्रतियोगिता रहेको बताएको छ । सो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ५ पाथी, तीन पाथी र एक पाथी आलुसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, आलु तथा हस्तकला प्रदर्शनीमा राखिएकामध्ये पाँच जना उत्कृष्ट कृषकलाई नगद सहित सम्मान गरिने बताइएको छ ।

स्थाानीय स्तरमा उत्पादन भएको आलुको प्रवद्र्धन तथा प्रचारप्रसारका लागि प्रतियोगितामा सहभागी भई पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई पुरस्कारसँगै आलु प्रदान गर्ने व्यवस्था गरेको उनको भनाई छ । गुम्दा एकता युवा क्लवका अध्यक्ष मनुराज गुरुङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष सुनिला गुरुङ, पूर्व उपाध्यक्ष फुलमाया गुरुङ, वडाध्यक्ष भिम प्रसाद गुरुङ, थामरा धार्चे युवा क्लवका अध्यक्ष सन्तोष गुरुङलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्