
संस्कृतिका खजाना हाम्रो पहिचान र गौरव
गुरुङहरुको मात्र बसोबास रहेको गोरखाको धार्चेका गाउँहरुमा अहिले विभिन्न सांस्कृतिक उत्सव गर्न थालिएको छ । भदौ १ को छेको पारेर विभिन्न गाउँमा गोठ समितिको भेला भयो । भेलाले गाउँका अत्यन्त ‘टिपिकल’ निर्णयहरु गरेको छ । त्यस्तै हिउँद लागेको खुशीयालीमा लाप्राकमा भद्रा मारेर उत्सव मनाइएको छ । गुम्दामा आलुमेला आयोजना गरिएको छ । संस्कृतिका खजानाले गाउँहरु उत्सवमय छन् ।
संस्कृति भनेको केवल रीतिरिवाज र चाडपर्व मात्र होइन, यो त पुस्तौंदेखि चल्दै आएको जीवनशैली, परम्परागत ज्ञान र सामाजिक सद्भावको एउटा बलियो जग हो । समाज, समुदायको प्रतिबिम्ब बोकेको बलियो पहिचान हो । यस्ता सास्कृतिक खजानाले सामाजिक एकताको आधार बनाउँछ, परिवार, टोल र समुदायबीचको सम्बन्धलाई बलियो बनाउँछ । चाडपर्व, मेलापात र सामूहिक कार्यहरूले मानिसहरूलाई एकताबद्ध भई काम गर्न प्रेरित गर्छ ।
हरेक गाउँको आ–आफ्नै भेषभूषा, भाषा र खानपान हुन्छ । यसले हाम्रो राष्ट्रलाई विविधतायुक्त बनाएको छ, जसले विश्वसामु हाम्रो छुट्टै पहिचान स्थापित गर्छ । अहिले ग्रामीण भेग विस्तारै रित्तिदै गएको छ । जनशक्ति पलायनले यस्ता संस्कार, संस्कृति पनि हराउँदै, लोप हुदै जान थालेका छन् । यो समस्याको समाधानका लागि हामीले तत्काल कदम चाल्नुपर्छ । विद्यालय र कलेजका पाठ्यक्रममा स्थानीय संस्कृति, लोककथा र परम्परागत सीपलाई समावेश गर्नुपर्छ । यसले युवा पुस्तालाई आफ्नै संस्कृतिप्रति गर्व गर्न सिकाउँछ ।
डिजिटल माध्यमको व्यापकतासंगै गाउँका लोकगीत, नृत्य र परम्परालाई सामाजिक सञ्जालमा प्रचारप्रसार गर्नुपर्छ, जसले नयाँ पुस्तालाई सजिलै आकर्षित गर्न सकिन्छ अनि संस्कृति र परम्परा विश्वव्यापी पनि बन्न सक्छ । संस्कृति हाम्रो पहिचान हो, हामी उभिएको आधार हो । यसलाई जोगाउनु हाम्रो पहिचान र स्वाभिमानलाई जोगाउनु हो । सबै मिलेर संस्कृतिलाई जीवित राखौँ र भावी पुस्तालाई हस्तान्तरण गरौँ ।




