
गोरखामा जेसीज सप्ताह सुरु, खुल्ला दौडको उपाधी राउतलाई
गोरखामा जेसीज सप्ताह कार्यक्रम सुरु भएको छ । आइतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यक्रमको उद्घाटन गरेका छन् । सप्ताहव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन खुल्ला दौड प्रतियोगिता भएको छ । प्रतियोगितामा गणेश सिंह राउत प्रथम भएका छन् । निर्धारित दुरी २१ मिनेट ९० सेकेण्डमा पार गरेका उनले १५ हजार नगद पुरस्कार पाए ।
प्रतियोगितामा यमराज खत्री दोस्रो र गौतम श्रेष्ठ तेस्रो भए । उनीहरुले निर्धारित दुरी क्रमश २२ मिनेट ३७ सेकेण्ड र २२ मिनेट ४५ सेकेण्डमा पार गरेका थिए । उनीहरुले पुरस्कार स्वरुप नगद ७ हजार ५ सय र ४ हजार पाए । २३ मिनेट ३ सेकेण्डमा निर्धारित दुरी पार गरेका सरोज गिरीले सान्त्वना स्थान हासिल गरे । उनलाई दुई हजार नगद पुरस्कार दिइयो ।
प्रतियोगितामा तीन जना महिलाहरु पनि सहभागी थिए । जसमध्ये दुई जनाले निर्धारित दुरी पार गरे । उनीहरुमध्ये एक जनालाई सान्त्वना पुरस्कार स्वरुप दुई हजार नगद उपलब्ध गराइयो भने एक जनालाई एक हजार नगद उपलब्ध गराइएको आयोजक गोरखा जेसीजले जनाएको छ । प्रतियोगितामा कुल ५३ जनाको सहभागीता रहेको थियो । पस्लाङको द्रव्यशाह चौताराबाट सुरु भएको दौड सतिपिपल धारापानी, विपिचोक हुदै पदेलीमा आएर टुंगिएको थियो ।
गोरखा जेसीजका अध्यक्ष सुमन गुरुङको अध्यक्षता तथा मुख्यमन्त्री पाण्डेको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, गोरखा जेसीजका मानार्थ सदस्य एवं गोरखा नगरपालिकाका पुर्व मेयर राजनराज पन्त, गोरखा जेसीजका पुर्व अध्यक्ष एवं गोनपा ५ का वडाध्यक्ष बिष्णु राना, कार्यक्रम मूल संयोजक रचन परियार लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमकै अवसरमा टिकाबहादुर बोगटी सम्मानित भएका छन् । म्याराथन दौड मार्फत नेपाललाई बिश्वसामू चिनाउन सफल भएको भन्दै उनको योगदानको कदर स्वरुप सम्मान गरिएको जेसीजले जनाएको छ । गोरखा नगरपालिका–२ मा जन्मेका उनलाई नगद सहित कदर पत्रले सम्मान गरिएको जेसीजका अध्यक्ष गुरुङले बताए । भारतको चेन्नईमा सम्पन्न ७ औँ साग १९९५ मा नेपालबाट सहभागी बनेका बोगटीले स्वर्ण पदक जितेका थिए । त्यस्तै दक्षिण कोरिया र अमेरिकामा भएको ओलम्पिक म्याराथन दौडमा समेत उनी सहभागी भइसकेका छन् ।
भदौ ७ गतेसम्म सप्ताह कार्यक्रम संचालन हुने बताइएको छ । सो अवधिमा शैक्षिक सामग्री वितरण, गोरखा अस्पतालका बिरामीलाई फलफूल वितरण, सुस्त गतिमा मोटरसाइकल तथा स्कुटर चलाउने प्रतियोगिता, स्वास्थ्य शिविर, वक्तृत्वकला लगायतका कार्यक्रम हुने गोरखा जेसीजले जनाएको छ ।




