| सोमवार, कार्तिक २३, २०८३

एकबर्षमा १० लाख भक्तजनले गरे मनकामना दर्शन

प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा एकबर्षको अवधिमा १० लाख भक्तजनहरुले दर्शन गरेका छन् । गत असार मसान्तसम्मको एकबर्षको अवधिमा १० लाखभन्दा धेरै भक्तजनले मनकामना मन्दिर दर्शन गरेको मनकामना क्षेत्र विकास समितिले जनाएको छ ।

सो अवधिमा भक्तजनहरुमार्फत एक करोड २८ लाख रुपैँया दान पेटिकामा रकम संकलन भएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक अन्जन बस्नेतले बताए । बस्नेतका अनुसार मन्दिरमा चन्दा संकलन गर्न सात वटा दानपेटिकाहरु राखिएका छन् । भक्तजनहरुसंग रसिदमार्फत पनि दान रकम संकलन गर्ने गरेको उनले बताएका छन् । ‘स्वेच्छिक चन्दा संकलन गर्न मन्दिरभन्दा बाहिर सातवटा दान पेटिका राखिएको छ । दान पेटिकाहरु भरिएपछि मात्र खोल्ने गर्छौँ । सामान्यतया हरेक दुई–दुई महिनामा पेटिका भरिएर खोल्ने गरेका छौँ’, उनले भने, ‘रु ५०० भन्दा बढी रकम सहयोग गर्नेहरुलाई रसिद काटेर दिने गरेका छौँ । दान पेटिकाभन्दा रसिदबाट धेरै रकम संकलन हुन्छ ।’

गत आर्थिक वर्षको असार मसान्तसम्मा दान पेटिकाबाट रु ३३ लाख र रसिदमार्फत रु ९५ लाख रुपैँया संकलन भएको बस्नेतले जानकारी दिए । रसिदमार्फत दैनिक २० देखि २५ हजार रुपैँया संकलन हुने उनको भनाई छ । यस्तै, हरेक पटक दान पेटिका खोल्दा ७ देखि ८ लाख रुपैँया जम्मा हुने बताइएको छ । मन्दिरमा चढाइने भेटीबारे भने आफूहरुलाई थाहा नभएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष बस्नेत बताउँछन् । उनी भन्छन्, ‘समितिले भेटी व्यवस्थापनको जिम्मेवारी लिइसकेको छैन्, परम्परागत हिसावले मन्दिरमा चढाइएको भेटीको व्यवस्थापन पुजारीहरुले नै गर्नुहुन्छ ।’

समितिले संकलन गरेको चन्दा रकम मनकामना परिसरमा सरसफाई, मन्दिर व्यवस्थापन, सुरक्षा सहायक परिचालन, अन्य आन्तरिक खर्च र स्थानीय वडाको पूर्वधार निर्माणको क्षेत्रमा खर्च हुने कार्यकारी निर्देशक बस्नेतले बताएका छन् ।
हाल मनकामना क्षेत्र विकास समितिमा कार्यकारी निर्देशकसहित १४ जना कर्मचारीहरु कार्यरत छन् । समितिका कार्यकारी निर्देशकको तलव भत्ता गण्डकी प्रदेश सरकारमार्फत आउँछ । अन्य १३ जना कर्मचारीहरुको हकमा भने चन्दा रकमबाटै व्यवस्थापन गरिएको छ ।

मनकामना दर्शन गर्न आउने भक्तजनहरुमध्य ९० प्रतिशत केबलकारबाट र जम्मा १० प्रतिशत मात्रै मोटरबाटोबाट आउने गरेको क्षेत्र विकास समितिले जनाएको छ । भक्तजनहरुमा पनि ७० प्रतिशत भारतीय र बाँकी ३० प्रतिशत नेपाली र अन्य मुलुकको रहेको समितिको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्