| सोमवार, कार्तिक २३, २०८३

जहाँ झाँक्रीले पूजा गरेपछि मात्रै भेडीगोठ राखिन्छ

प्रतीक्षा आले ।
गुरुङ, घलेहरुको बसोबास रहेको उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नं. १, २ ६ अनि धादिङको रुवीभ्याली गाउँपालिकाका बासिन्दा पोकरचेतस्थित कालोपोखरीमा भेला भए । गाउँका डाङ्ग्रे(झाँक्री) बसे । ३,४६६ मिटर उचाईमा रहेको कालोपोखरीको पूजा गरे । प्राच्यु ल्ह देवताको पूजा गरे । दिनभर चार डाङ्ग्रेले वायुको पूजा गरे, ढुंगा, माटो, पानी, असिनाको पूजा गरे ।

उपस्थित सयौं गाउँलेलाई दीर्घजीवनको आशिर्वाद दिए । गोठालाको गोठमा रहेका भेँडाबाख्रा, गाईभैँसीको सुरक्षाको कामना गर्दै आशिर्वाद दिए । यति गरेपछि मात्र अब धार्चे–१ हुल्चुक, वडा नं २ को केरौँजा र रुन्चेत, वडा नं ६ काशीगाउँ र धादिङको रुवीभ्यालीका बोन्पाहरुले यहाँ गोठ ल्याउन पाउँछन् । भेँडाबाख्रा लगायतका पशुधन सुरक्षित गर्न पाउँछन् ।

झाँक्रीहरुले कालोपोखरीको मुल देवता ‘प्राच्यु ल्ह’को पूजाआजा गरेपछि मात्र यहाँ गोठ राख्न पाइने परम्परा रहेको धार्चे गाउँपालिका २ का वडाअध्यक्ष सरोज गुरुङले बताए । गुरुङका अनुसार प्राच्यु ल्ह देवताले प्रकृतिमा भएको तत्वहरु हावा (हुरी), पानी (झरी), असिना र जंगली जनावरहरु बाघ र भालुलाई नियन्त्रण गर्न सक्ने जनविश्वास छ । कालोपोखरीमा पूजा गरेमा प्राच्यु ल्ह देवताले प्राकृतिक शक्तिहरु नियन्त्रण गरी लेकको गोठाले र जनधनको जीवन रक्षा गरिदिने मान्यता रहेको उनले जानकारी दिए ।

कालोपोखरीमा हरेक वर्ष धुमधामले पूजाआज गरेपछि मात्र भेडीगोठ राख्ने प्रचलन छ । यो वर्ष भने धार्चे गाउँपालिकाको आयोजना र धार्चे मनासलु पर्यटन विकास समितिले यस संस्कृतिको सम्बद्र्धन, प्रवद्र्धनमा साथ दिए । गाउँपालिका र पर्यटन विकास समितिको समन्वयमा यसबर्ष कालोपोखरी मेला आयोजना गरिएको भयो ।

धार्चे मनासलु पर्यटन विकास समितिका अध्यक्ष सानेगुरुङको अध्यक्षतामा भएको कार्यक्रममा धार्चे गाउँपालिका २ का वडाअध्यक्ष सरोज गुरुङ, स्थानीय छेटु गुरुङ लगायतले मन्तव्य राखेका थिए । जुनतारा सिर्जनशील युवा क्लव, गण्डकी लालीगुँरास आमा समूह, देउराली सामुदायिक वन उपभोक्ता समूह लगायतले पनि कार्यक्रममा सहभागिता जनाएका थिए ।

कालो पोखरीलाई मध्यनजर गरेर गोरखाको भार्चे र धादिङको रुवीभ्याली गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने खाले कार्यक्रमहरु गर्दै आएको छ । पर्यटन विभाग अन्तरगतको ग्रेटहिमालयन ट्रेलले पर्यटकलाई कालोपोखरी हुँदै मनासलु क्षेत्र जान पदमार्ग निर्माण गरेको छ । ग्रेट हिमालयन ट्रेलले धादिङको रुवीभ्यालीबाट कालोपोखरी हुँदै मनासलु क्षेत्र जाने पदमार्ग निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्