
३० बर्षदेखि निरन्तर दूध व्यवसायमा तल्लीन भीमसेन
शिव उप्रेती ।
यसबर्षको धान दिवसका दिनमा कृषि ज्ञानकेन्द्र गोरखाले गाईपालक किसान भीमसेन बस्नेतलाई उत्कृष्ट कृषकका रुपमा पुरस्कृत ग¥यो । गाई, भैँसी तथा डेरी व्यवसायमा ३० बर्ष बिताएका उनलाई यसै बर्ष गण्डकी प्रदेश सरकारले पनि उत्कृष्ट किसान भनी पुरस्कृत ग¥यो ।
कृषि र पशुपालनमा उल्लेखनीय काम गरेका उनी अहिले मात्र होइन, यसअघि पनि पटक पटक पुरस्कृत भएका थिए । ‘२०७५ सालमा नगरपालिकाले उत्कृष्ट किसान भनेर पुरस्कृत गरेको थियो’, उनी सम्झन्छन् । गोरखा नगरपालिका ९ लक्ष्मीबजार निवासी ५७ बर्षका बस्नेत काम गर्न सक्ने उमेरदेखि नै श्रमप्रति सम्मान गर्ने व्यक्ति थिए । सुरुका दिनमा उनी घर बनाउने काममा ज्याला मजदुरी गर्थे । सिकर्मी, डकर्मी गरेर २५ बर्ष बिताएका उनले त्यसपछि बिस्तारै गाई, भैसी पालनतर्फ खुट्टो घुमाएका हुन् ।
त्यसयताका तीन दसक उनी अबिराम दूग्ध उत्पादन व्यवसायमा तल्लीन छन् ।
‘२०५१ सालबाट दूध उत्पादन व्यवसाय गर्न थालेको हुँ’, उनी भन्छन्, ‘त्यतिबेला घरमा दुइटा गाई, सातवटा दुहुना भैँसी थिए । २०५४ सालमा चन्द्रज्योति दुग्ध उत्पादक सहकारी संस्था २०५६ सालमा गोरखकाली गाईफर्म दर्ता गरेँ ।’ दूध उत्पादन गरेर अरुको डेरीमा बेच्दा बक्यौता धेरै रहने र कहिल्यै पनि भुक्तानी नपाउने समस्याले पीडित हुने भएकाले आफैले सहकारी गठन गरी डेरी उद्योग सञ्चालन गरेको उनको अनुभव छ । तर चन्द्रज्योति दुग्ध उत्पादक सहकारी संस्था तथा चन्द्रज्योति डेरी उद्योगले पनि उनलाई सुख दिएन । व्यवस्थापनमा खटपट भएपछि सो सहकारी तथा डेरी उद्योग पनि सदाका लागि बन्द भयो ।
जयगोरखकाली एग्रो एण्ड डेरी फर्म दर्ता गरेर सञ्चालन गर्न थालेदेखि भने उनको सुखका दिन सुरु भएजस्तो लागेको छ । ‘चन्द्रज्योति सहकारीसंग, सुजल फुड्ससंग लाखौं रुपैयाँ लिनुछ तर कसरी लिने ?’, उनको पिरोलो छ, ‘बरु आफै डेरी उद्योग सञ्चालन गर्छु भनेर चन्द्रज्योतिका उपकरणहरु सबै उठाएर घर लगेँ र आफैले डेरी चलाएको छु ।’ विभिन्न डेरीसंग गरी उनले ३० लाख रुपैयाँभन्दा धेरै रकम पाउनु पर्ने छ । चन्द्रज्योतिका केही उठौती उपकरण ल्याएर उठाए पनि अझै धेरै रकम उठ्न बाँकी रहेको उनको भनाइ छ ।
घरमा डेरी भएपछि भने उनलाई लगानी फँस्ने समस्याबाट बचेको अनुभूति भएको छ । ‘अहिले यहाँबाट दैनिक करिब पाँचसय लिटर दूध उत्पादन हुन्छ’, उनी भन्छन्, ‘आफ्नै डेरीमा लैजान्छु । प्रशोधन गर्छु । दूध र घ्यूबाट बन्ने अरु परिकार पनि उत्पादन गर्छु । गोरखा बजारमै आनन्दले बिक्री हुन्छ ।’ आफ्नै कामदारबाट गोरखाका पसल र घरघरमा दूध पु¥याउने गरेको उनको भनाइ छ । ‘तर दुखको कुरा के छ भने रक्सी उत्पादन गरेको भए टाढाटाढादेखि लिन आउँथे । दूध उत्पादन गरेको छु, घरघरै पु¥याउन जाँदा पनि अझै नजरअन्दाज गर्छन्’, उनी भन्छन् ।
गोरखा बजारमा दैनिक पाँच हजार लिटर दूधको उपभोग हुने गर्छ । त्यसमध्य आफ्नो पाँचसय लिटर दूध सजिलोगरी बिक्री हुने उनको भनाइ छ । लक्ष्मीबजारभन्दा धेरै तल सिर्दीमा उनको गोठ छ । त्यहाँ दुहुनो ५९ वटा गाई छन् । ब्याउने तरखरमा रहेका, बाच्छाबाच्छी गरी उनीसंग अहिले ८० भन्दा धेरै गाई छन् । ‘सबैभन्दा धेरै भएका बेला दुईबर्षअघि १०७ वटा गाई थिए । अहिले ८० वटा जति छन्’, उनी भन्छन्, ‘दैनिक पाँचहजार लिटर दूधको माग छ । मैले आपूर्ति गर्ने पाँचसय लिटर मात्र हो । जति गाई, भैँसी पाले पनि गोरखाको माग धान्न सकिँदैन । त्यसैले सबैले यो व्यवसाय गरेपनि जीवन निर्वाह हुन्छ ।’ यहाँका व्यापारीले हेटौँडा, चितवन, मार्किचोक, पोखराबाट दूध ल्याएर बजारको माग सम्बोधन गर्ने गर्छन् ।
सिर्दीमा उनको फर्मसंग दुईसय रोपनी जग्गा छ । ‘६५ रोपनीचाहिँ फर्मकै नाममा छ । अरुचाहिँ भाडामा हो’, उनी भन्छन्, ‘गोठमा, डेरीमा र बजारमा गरेर सातजना कामदार, कर्मचारीहरु छन् । दुईबर्षअघि दुई करोड रुपैयाँ कर्जा लिएको थिएँ । आधाजसो तिरिसकेँ । आधाजसो बाँकी छ । रिन तिरेपछि आनन्द हुन्छ ।’ उनलाई संघ सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले पनि सहयोग गरिरहेका छन् । ‘एकबर्ष सरकारले व्याजमा अनुदान दियो । बेलाबेला तालिम पनि दिइरहेको छ’, उनी भन्छन्, ‘नाम्ले, माटे, जुकाको औषधी पनि ५ महिना गोरखा नगरपालिकाले र ६ महिना गण्डकी प्रदेश सरकारले सहयोग गरिरहेको छ ।’ तैपनि केही चर्कै समस्यामा उनी गुज्रिरहेका छन् ।
‘गोठसम्म आउने बाटो पूरै कच्ची छ । दूध बोक्ने बोलेरो जिप, मल बोक्ने ट्रयाक्टर हिँड्न पनि धौधौ हुन्छ’, उनी भन्छन्, ‘गोठमा म्याट ओछ्याउन पाए गाई पनि निरोगी हुन्थ्यो । दूध उत्पादन पनि बढ्थ्यो । तर सकेको छैन । किसानले उत्पादन गरेको दूध पालिका सरकारले बजारको ग्यारेण्टी गरिदिए सुनमा सुगन्ध हुन्थ्यो ।’ बाहिरबाट आउने कम गुणस्तरका दूध सस्तोमा बजारमा पाइने हुनाले आफूहरु पनि कम गुणस्तरको दूधको बजारभाउसंग प्रतिस्पर्धा गर्नु परिरहेको उनको गुनासो छ । अहिले सबै युवा वैदेशिक रोजगारीमा गएकाले फर्ममा काम गर्ने कामदार पाउन कठिन भएको पनि उनी सुनाउँछन् । जति बिघ्नबाधा भएपनि अझै कम्तिमा १५ बर्ष यही व्यवसाय गर्ने लक्ष्य रहेको उनले सुनाए ।




