| सोमवार, कार्तिक २३, २०८३

मान्छेको लाडप्यारमा हुर्किएको ‘लियो’

प्रतीक्षा आले
तस्वीरमा देखिएको यो बाल चितुवालाई आजभोलि कास्कीको पचभैया वन्यजन्तु उद्धार केन्द्रका कर्मचारी, वन विभागका कर्मचारी सबैले लाडप्यारले ‘लियो’ भनेर बोलाउँछन् । उसलाई आजभन्दा ६ महिनाअघि २०८१ माघ २१ गते गोरखाको पालुङटार नगरपालिका–१० मिरकोटको एक सामुदायिक वनबाट मरणासन्न अवस्थामा उद्धार गरिएको थियो । करिब तीनहप्ताको लियो जंगलको छेउमा सानो स्वरमा रोइरहेको अवस्थामा स्थानीय बासिन्दाले फेला पारेका थिए । उसको आमा र उनको अर्को बच्चाको शव नजिकै मृत अवस्थामा लडिरहेका थियो । वरिपरि दुई शव देखेर लियो पिलपिल रोइरहेको थियो ।
दयनीय अवस्थामा फेला परेको लियोलाई उनीहरुले डिभिजन वन कार्यालय गोरखामा सुम्पिएका थिए ।

घटनाको बारेमा जानकारी गराउँदै डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले भन्नुभयो, ‘घटनास्थलमा लियोकी आमा र उसको अर्को बच्चाको मृत्यु भइसकेको थियो । लियो भने नजिकै रोइरहेको, कराइरहेको अवस्थामा फेला परेको थियो ।’
निकै नाजुक अवस्थामा फेला परेको लियोलाई स्थानीय बासिन्दा, वन कार्यालय र वन्यजन्तु विशेषज्ञहरूबाट छिटो, छरित्तो उद्धारका कारण मृत्युको मुखबाट बचेको उहाँले बताउनुभयो ।

लियोकी आमा र उसको अर्को बच्चाको भने यूकेको केन्ट विश्वविद्यालयकी पीएचडी विद्यार्थी तथा वन्यजन्तु पशु चिकित्सक डा. जेसिका बोडजीनरले पोस्टमार्टम गर्नुभएको थियो । बोडजीनरको पोष्टमार्टम रिपोर्टमा उनीहरुको मृत्यु भाले चितुवाको आक्रमणमा भएको अनुमान छ । ‘भाले चितुवाले उनीहरुमाथि घातक आक्रमण ग¥यो । आफ्ना बच्चाहरूको रक्षा गर्ने क्रममा आमा अनि एउटा बच्चा मारिए’, बोडजीनरले भन्नुभयो, ‘बाघ वा चितुवा जस्ता ठूला बिरालो प्रजातिमा ‘इनफ्यान्टिसाइड’ भन्ने व्यवहार हुन्छ । जसमा भालेले आफ्नो नभएका बच्चाहरू मार्न खोज्छन्, जसले पोथीलाई पुनः प्रजनन अवस्थामा ल्याउन चाहन्छन् ।’

लियोको भाईको आक्रमण र भोकका कारण मृत्यु भएको हुनसक्ने डा. बोडजीनरले जानकारी दिनुभयो ।
उद्धार गर्ने क्रममा लियो जम्मा तीन हप्ताका मात्र थिए । पोस्टमार्टमले लियोको भाइमा जन्मजात छातीको विकृति समेत देखाएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । सुरुमा चिकित्सकहरु पनि लियो बाँच्छ या मर्छ भन्नेमा निश्चित नभएको कार्यालयको भनाइ छ । ‘हाम्रा कर्मचारीले लियोलाई भेट्दा, ऊ दुई दिनभन्दा बढी बाँच्ला भन्ने लागेकै थिएन’, डिभिजन वन कार्यालय गोरखाका प्रमुख शाण्डिल्य भन्नुहुन्छ, ‘ऊ यति सानो र कमजोर थियो, अहिले ऊ स्वस्थ हुँदै गएको खबर सुन्दा हामी अत्यन्तै खुसी छौँ ।’

लियोलाई डिभिजन वन कार्यालय गोरखामा प्राथमिक उपचारपछि थप उपचार र संरक्षणका लागि कास्कीको पचभैया वन्यजन्तु उद्धार केन्द्रमा सारिएको थियो । त्यहाँका डाक्टर किशोर आचार्यको नेतृत्वमा उसलाई २४ सै घण्टा हेरचाह गरिएको बताइएको छ । उद्धार केन्द्रमा लियोलाई बोतलबाट दूध खुवाउनेदेखि दिसा–पिसाब गराउन समेत सहयोग गरिएको डाक्टर आचार्यले बताए । ‘लियो बाँचेको तथ्य आफैंमा उद्धार केन्द्रको कर्मचारीको समर्पण र कडा मेहनतको प्रमाण हो’, उहाँले भन्नुभयो, ‘टुहुरा चितुवा बच्चाहरूलाई हातले हुर्काउनु अत्यन्तै चुनौतीपूर्ण हुन्छ, र धेरैजसो त बाँच्नै सक्दैनन् । भारतमा भएका यस्तै प्रयासहरुका तथ्याङ्कले ५० प्रतिशतभन्दा बढी हातले हुर्काइएका चितुवा बच्चाहरू जिउँदै रहन नसक्ने देखाउँछ । तर लियोले यी सबै प्रतिकूलतालाई जितेको छ ।’

लियोले सुरुमा ढिलो प्रगति गरेपनि हाल छिटोछिटो तन्दुरुस्त हुँदै गएको छ । ‘अहिले लियोको तौल १२ किलोग्राम पुगेको छ । जुन उसको उमेरका लागि स्वस्थ तौल मानिन्छ’, उहाँले भन्नुभयो । हालसालै गरिएको स्वास्थ्य परीक्षण र एक्सरेले उसमा उसको भाइजस्तो छातीको विकृति नभएको पनि पुष्टि भएको डाक्टर आचार्य बताउनुहुन्छ ।

लियोको बढ्दो आकारलाई ध्यानमा राख्दै, वाइल्ड टाइगरका संरक्षणकर्मी ज्याक किनरोसले जेन गुडअल इन्स्टिच्यूटसँगको सहकार्यमा नयाँ घेराबार प्रणाली निर्माणका लागि आर्थिक स्रोत जुटाएका छन् । यसले लियोलाई भविष्यमा पुनः प्राकृतिक आवासमा फर्काउन सकिन्छ कि भन्ने मूल्याङ्कन प्रक्रिया सुरु गर्न मद्दत पु¥याउने बताइएको छ ।

स्थानीय समुदाय, वनका कर्मचारी र पशु चिकित्सक बीचको समन्वयले लियोको नयाँ जीवन सम्भव भएको कास्कीका डिभिजन वन अधिकृत कोमलराज काफ्लेले बताउनुभयो । ‘लियोको सफल उद्धार र पुनस्थापना हामी सबै मिलेर संरक्षणको क्षेत्रमा काम गरे के प्राप्त गर्न सक्छौं भन्ने उत्कृष्ट उदाहरण हो’, उहाँले भन्नुभयो ।

हालका लागि, लियोलाई पोखरा जुलोजिकल पार्कमा विशेष निगरानीमा राखिएको छ । उसको जीवनको यो अद्वितीय संघर्ष र सफलताले नेपालभरिका संरक्षणकर्मीहरूलाई आशा र प्रेरणा दिइरहेको उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्