| सोमवार, कार्तिक २३, २०८३

दूधपोखरी दर्शन गरेर फर्कदाँ हराएका आमाछोराको उद्धार

प्रसिद्ध धार्मिक स्थल दूधपोखरीमा नुहाएर फर्कने क्रममा हराएका आमाछोराको मध्यरातमा उद्धार गरिएको छ । दूधपोखरीबाट फर्कने क्रममा जंगलमा हराएका ७७ बर्षकी नुना ढकाल र ५७ बर्षका शिवहरि ढकाललाई शनिबार राती १२ः३० बजे उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भरत बहादुर बिकले जानकारी दिए ।

उनीहरुलाई स्थानीयबासीको सहयोगमा भच्चेकचौकीबाट खटिएका प्रहरी टोलीले माउनीडाँडा जंगलको बीचबाट उद्धार गरिएको प्रहरी निरीक्षक किरण घिमिरेले जानकारी दिए । भरतपुर महानगरपालिका २ आँपटारीका उनीहरु जनैपुर्णिमाको अवसरमा दूधपोखरी नुहाउन र पूजाआजा गर्न गत २२ गते त्यसतर्फ गएका थिए ।

‘अजिरकोट गाउँपालिका २ का वडाअध्यक्ष बाबुराम अधिकारी सरले उहाँहरु हराउनु भएको खबर हामीलाई राती १०ः३० बजेतिर गराउनु भयो’, घिमिरेले भने, ‘उहाँहरुको फोन सम्पर्कचाहिँ भइरहेको थियो । स्थानीयबासी र हामी मिलेर उहाँहरुलाई खोजतलास गर्दा राती १२ः३० तिर माउनीडाँडाको जंगलभित्र भेटिनु भयो ।’ उनीहरुलाई मध्यरातमा बोकेर भच्चेक प्रहरी चौकीमा राखिएको र आइतबार बिहान आफन्तहरु झिकाएर जिम्मा लगाएर पठाइएको उनले बताए ।
उनीहरु ४४ सय मिटर उचाइमा रहेको दूधपोखरी पुग्न नसकी फर्कदा बाटो बिराएर हराएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्