| सोमवार, कार्तिक २३, २०८३

हेपाटाइटिस बी विरुद्धको खोप अरु पालिकामा पनि खाँचो

गोरखाका उच्च पहाडी भूभाग, विशेषगरी चुमनुब्री र धार्चे गाउँपालिकामा बसोबास गर्नेहरुमा हेपाटाइटिस बीको संक्रमण अत्याधिक देखियो । वैदेशिक रोजगारीमा जाने क्रममा स्वास्थ्य जाँच गराउँदा त्यस भेगका धेरैमा हेपाटाइटिसको समस्या देखिएको हो । सो रोगको संक्रमणका कारण धेरै जना वैदेशिक रोजगारीमा जानबाट बञ्चितसमेत हुने गरेका छन् ।

बुबा आमामा यो समस्या भएपछि सन्तानमा पनि वंशानुगतअनुसार सरेर जाने हुँदा यो समस्या ज्यादै चर्कोगरी देखियो ।
यसप्रति गम्भीर ध्यानाकर्षण गरी किमोलुङ फाउण्डेशनले केही बर्षअघि चुमनुब्री ३ फिलिममा खोप केन्द्र बनाई हेपाटाइटिस बी विरुद्धको खोप शिविर सञ्चालन गरेको थियो । निर्धारित तीन पटकसम्म बुस्टर डोज खोप लगाएर त्यस भेगका १६ बर्षभन्दा माथिका बासिन्दालाई हेपाटाइटिसबाट मुक्त बनाउने प्रयास गरेको थियो ।

यसपटक वडा नं. ४ साविक प्रोक गाविसभित्र पर्ने विभिन्न गाउँबस्ती र वडा नं. ५ साविक बिही गाविसभित्र पर्ने विभिन्न गाउँबस्तीमा १० दिन लामो अभियान चलाउन लागेको छ । वडा कार्यालयहरुको माग अनुसार सो संस्थाले अमेरिकी प्राविधिक सहयोगमा विदेशबाट खोप झिकाई शिविर सञ्चालन गर्न लागेको हो । किमोलुङले आउँदो साउन २८ गतेदेखि भदौको ९ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको छ ।

तीनवटा वडामा खोप अभियान सम्पन्न गरेपछि सो संस्थाले बाँकी वडाहरु वडा नं. १, २, ६ र ७ मा पनि सञ्चालन गर्नुपर्ने जरुरी देखिन्छ । चुमनुब्रीमा सम्पन्न गरेपछि यसलाई धार्चेका सबै वडाअन्तर्गतका गाउँबस्तीहरुमा पनि हेपाटाइटिस बी विरुद्धको खोप अभियान सञ्चालन गर्नु जरुरी देखिन्छ । किनभने यस भेगमा पनि सो रोगबाट संक्रमित हुनेको संख्या उल्लेख्य छ ।

प्रतिक्रिया दिनुहोस्