| बिहिबार, बैशाख २, २०८३

गोरखामा ३१ औं विश्व आदिवासी दिवस मनाइयो

गोरखामा विभिन्न कार्यक्रम गरी ३१ औं विश्व आदिवासी दिवस हर्ष उल्लासका साथ मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाको आयोजनामा ‘प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने मुल नारासहित दिवस मनाइएको हो ।

दिवसको अवसरमा शनिबार सदरमुकाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आदिबासीको थातथलो संरक्षणदेखि भाषा प्रवद्र्धन गर्ने विषयलाई जोड दिइएको थियो । आदिवासी आन्दोलन सेलाउँदै गएकोमा सहभागीहरुले गुनासो गरेका थिए । साथै कला, संस्कृतिको बिकास गर्दै लैजानु पर्ने बताएका छन् । एक कार्यक्रमका बीच गोरखाका कुमाल समुदायले प्रयोग गर्ने छत्री, माछा मार्न प्रयोग हुने र्फुलुङलगायतका सामग्री महासंघलाई हस्तान्तरण गरिएको थियो ।

उक्त सामग्री गोरखा कुमाल संघका अध्यक्ष रुपलाल कुमाल र आदिवासी जनजाति युवा महासंघकी केन्द्रीय सदस्य सर्मिला कुमालले महासंघलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । नेपाल आदिवासी जनजाति महासंघ पालुङटार इकाईले पनि विभिन्न कार्यक्रम गरी दिवस मनाएको छ । विश्व आदिवासी दिवस हरेक वर्षको अगष्ट ९ मा पर्छ । यस दिनलाई विश्वभरका आदिबासीले ठूलो पर्वको रुपमा हर्ष उल्लासका साथ मनाउने गर्दछन् ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाका अध्यक्ष विष्णु राना मगरको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, आदिवासी जनजाति महासंघ गोरखाका उपाध्यक्ष प्रेमध्वज थापा मगर, तमु हुय्ल छोंज धीका केन्द्रीय उपाध्यक्ष नरबहादुर गुरुङ, आदिवासी जनजाति नगर कमिटिका अध्यक्ष कर्ण गुरुङलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्