
गोरखाका ७३ बालबालिका कुपोषणबाट ग्रस्त
भविष्यमा गुणस्तरीय जनशक्ति तयार गर्न सरकारले पोषणका लागि बर्सेनी करोडौं रुपैयाँ खर्च गरिरहेको छ तर, बालबालिकामा कुपोषणको समस्या अपेक्षा गरेजस्तो सुधार भएको छैन ।
गोरखाका ७३ जना बालबालिका कुपोषणको सिकार भएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले अहिले गोरखाका १२ जना बालबालिका कडा खालको कुपोषणबाट ग्रसित भएको जनाएको छ । त्यस्तै ६१ जनामा मध्यम खालको कुपोषण देखिएको छ ।
अहिले सबैभन्दा धेरै कडा खालको कुपोषणग्रस्त बालबालिका भीमसेनथापा गाउँपालिकामा छन् । सो पालिकामा चारजना कडाखाले कुपोषणका सिकार भएका छन् । ६ जनामा मध्यम कुपोषण भेटिएको छ ।
जिल्लाकै सबैभन्दा धेरै कुपोषित बालबालिका पालुङटार नगरपालिकामा छन् । बिगतदेखि नै सबैभन्दा धेरै कुपोषणको समस्या देखिएको सो पालिकामा अहिले पनि एकजनामा कडा खालको र २५ जना मध्यम खालको कुपोषणबाट ग्रसित भएका प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका पोषण शाखामा काम गर्ने जनस्वास्थ्य अधिकृत नवराज खड्का बताउँछन् । ‘आर्थिक वर्ष २०७८÷०७९ मा पालुङटारमा ४२ जना बालबालिका कुपोषणबाट ग्रस्त थिए’, उनले भने, ‘२०७९÷०८० मा त्यो संख्या घटेर २३ जना भएको थियो । फेरि २०८०÷०८१ मा बढेर ४१ भयो । २०८१÷०८२ मा २५ जनामा कुपोषण देखिएको छ । यो संख्या जिल्लाकै सबैभन्दा धेरै हो ।’
आरुघाट गाउँपालिकामा मध्यमखाले कुपोषण भएका चारजना र कडा कुपोषण तीनजना बालबालिकाहरु भेटिएका छन् ।
गोरखा नगरपालिकामा चार मध्यम र चार कडा, सहिदलखन गाउँपालिकामा आठ मध्यम र गण्डकी गाउँपालिकामा सात जना मध्यम, सिरानचोक गाउँपालिकामा तीन मध्यम, बारपाक सुलिकोट गाउँपालिकामा दुई मध्यम र धार्चेमा तीन मध्यम कुपोषण भएका बालबालिकाहरु भेटिएका छन् ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका र अजिरकोट गाउँपालिकामा कुपोषण भेटिएको छैन् ।
आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लाका ७५ जना बालबालिकामा कुपोषण देखिएको थियो । सो वर्ष ६२ जना बालबालिकामा मध्यम र १३ जनामा कडा खाले कुपोषण देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य अधिकृत नवराज खड्काले बताए । उनका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा जिल्लाभर ६३ जनामा कुपोषण देखिएको थियो । यस्तै, आव २०७८÷०७९ मा ७९ जनामा कुपोषण भेटिएको खड्काले जानकारी दिए ।
कडा र मध्यम कुपोषण यकिन गरेर उपचारमा समेटिएको खड्काले बताएका छन् । ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था लेखाजोखा गर्ने गरिएको छ । ५९ महिनासम्मका बालबालिकामा कुपोषणको अवस्था जाँच गरिन्छ ।
उपचार गर्नुपर्ने र आवश्यक पौष्टिक आहार आवश्यक भएका बालबालिकालाई निःशुल्क उपचार र पौष्टिक आहार उपलब्ध गराइने खड्काले बताए । बालबालिकालाई आवश्यक आहारा र मात्रा मिलाउन नसक्दा शिक्षित र आर्थिक रूपमा सबल परिवारका बालबालिकामा पनि कुषोषण भेटिएको कार्यालयका खड्काको भनाइ छ ।
ग्रामीण भेगमा भने आवश्यक ज्ञानको अभाव र परिवारले पौष्टिक तत्त्वयुक्त खानेकुरा मिलाएर खुवाउन नसक्ने अवस्था हुँदा बालबालिका कुपोषित हुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।




