
गोरखामा १७ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा १७ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । गोरखा नगरपालिकाका १० र अन्य पालिकाहरुका ७ जना गरी जम्मा १६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको गोरखा लायन्स आँखा सेवाकेन्द्रका प्रमुख प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले बताए ।
शिविरमा महिला ८ जना र पुरुष ९ जनाले सेवा लिएको उनले जानकारी दिए । हरेक महिना १९, २० र २१ गते नियमित रुपमा आँखा शिविर सञ्चालन हुने गर्छ । १९ गते ट्रेसिङ हुने, २० गते शल्यक्रिया हुने र २१ गते आँखाको पट्टी खोल्ने कार्यक्रम रहेको केन्द्रका प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ छ ।
गोरखा नगरपालिका भित्रका आँखाको बिमारीको भने निःशुल्क शल्यक्रिया गरिने उनले बताए । ‘गोरखा नगरपालिका भित्रका बिमारीकोे उपचार तथा शल्यक्रिया निःशुल्क हुन्छ’, उनले भने, ‘अन्य पालिकाहरुको भने शुल्क लिएर सशुल्क नै उपचार गर्ने गर्छौ ।’ सेवा केन्द्रले बिभिन्न समयमा समुदायमा गएर आँखा जाँच गरिरहेको र सो जाँच क्रममा मोतिबिन्दुको शल्यक्रिया गर्नु पर्ने भएमा बिरामीहरुलाई गोरखा लायन्स आँखा सेवा केन्द्रमा पठाउने गरेको उनले बताए ।
गोरखा लायन्स आँखा सेवा केन्द्रले बिधालयमा, समुदायमा आँखा जाँच कार्यक्रमलाई निरन्तरता दिदै आइरहेको छ । सेतो पुतलीको कारण हुने शापु रोगले आँखामा संक्रमण गराउँछ । त्यस कारण सेतो पुतलीबाट सर्तकता अपनाउन र बर्षा लागेसँगै आँखामा आउने सक्रमणबाट बच्नको लागी आँखा सेवा केन्द्रमा गई आँखा उपचार गराउन अनुरोध गरिएको छ ।




