
गोरखामा यसबर्ष रोपाइँ १० प्रतिशतले घट्यो
खडेरीका कारण गोरखामा यसबर्ष रोपाइँ गतबर्षभन्दा १० प्रतिशत घटेको छ । गतबर्ष ९५ प्रतिशत रोपाइँ भएकामा यसबर्ष जम्मा ८५ प्रतिशतमात्र रोपाइँ भएको कृषि ज्ञानकेन्द्र गोरखाले जनाएको छ । मध्य साउनसम्म परेको खडेरीका कारण जिल्लाको समग्र रोपाइँ प्रणाली प्रभावित बनेको कृषि ज्ञान केन्द्र गोरखाका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिए ।
गोरखामा साउनको पहिलो हप्ताभित्र बर्खे धानको रोपाइँ सकिइसक्ने कृषि ज्ञान केन्द्र गोरखाको अनुमान थियो । तर, साउन लामो खडेरीले जिल्लाभर रोपाईँ गर्न ढिलाइ भएको कार्यालयका सूचना अधिकारी भट्टराईले बताए । उनका अनुसार खडेरीले सबैभन्दा धेरै असर जिल्लाको सहिदलखन गाउँपालिकामा देखिएको छ । सो पालिकामा हालसम्म ५० प्रतिशतमात्र रोपाइँ सकिएको उनले जानकारी दिए ।
‘सहिदलखन गाउँपालिकाको अधिकांश रोपाइँ आकासे पानीमा निर्भर छ । सिँचाईको सुविधा नभएकै कारण पालिकामा हालसम्म आधाजसो खेतमा मात्र रोपाइँ हुन सक्यो’, उनले भने, ‘सहिदलखन गाउँपालिकामा अन्य पालिकाहरुको तुलनामा कम पानी परेकाले पनि रोपाइँमा ढिलाई भएको छ । जसले समग्र जिल्लाको औसत दरलाई प्रभाव पारेको छ ।’
उनका अनुसार गोरखा नगरपालिकामा ७८ प्रतिशत खेतमा रोपाइँ भएको छ भने पालुङटार नगरपालिकामा ८२ प्रतिशत रोपाइँ भएको छ । यो वर्ष जमिन बाँझो हुने दर पनि बढेको कृषि ज्ञान केन्द्र गोरखाका सूचना अधिकारी भट्टराईको भनाइ छ । उनी भन्छन्, ‘गतवर्ष जिल्लाभर ९७ प्रतिशत खेतहरुमा धान रोपिएको थियो । यो वर्ष घटेर ९५ प्रतिशत भएको छ ।’ साथै, गत वर्षको तुलनामा यो वर्ष धानमा लाग्ने रोगको समस्या समेत बढेको बताइएको छ ।
जिल्लाको धान खेती हुने १० हजार १४० हेक्टरमध्य गतवर्ष ९ हजार ५६२ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएको थियो । यसबर्ष घटेर ८ हजार ५६५ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको कार्यालयले जनाएको छ । गतबर्ष ३९ हजार ९०० मेट्रिकटन धान उत्पादन भएकोमा खडेरी र बाँझोपनका कारण यसवर्ष जिल्लामा धानको उत्पादन घट्ने अनुमान कृषि प्राविधिकहरुको छ ।
किसानहरुले यो वर्षपनि मलको अभाव खेप्नुपर्ने अवस्था रहेको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीले बताए । ‘जिल्लामा ४ देखि ५ हजार टन रसायनिक मलको माग छ तर, जिल्लाका लागि यो वर्ष जम्मा २७ सयदेखि २८ सय टन मलको कोटा आएको छ । किसानहरुलाई रसायनिक मलको अभाव नै त हुँदैन तर भनेजति पर्याप्त पनि हुँदैन’, उनले भने । यो वर्ष गोरखामा मागभन्दा ४० प्रतिशत कम मल आयात भएको उनले बताए । कृषि ज्ञान केन्द्रमा हरेक दिन किसानले मल नपाएको गुनासो गर्ने कार्यालयको भनाइ छ ।
गोरखामा किसानहरु रामधान, साबित्री, सुख्खा २ जस्ता उन्नत जात र हाईब्रिडमा च्याम्पियन, युएस ३१२ नामको धान रोपेका छन् । साथै, केही स्थानीय जातका धानको बिउहरु पनि रोपेको बताइएको छ । जिल्लाको दरौँदी फाँट, सिर्दिफाँट, शेराफाँट, ज्यादुलफाँट, टारीफाँट, दर्बुङफाँट, बोर्लाङफाँट लगायतका ठाउँमा धान उत्पादन धेरै हुने गर्छ । उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकामा भने हावापानीका कारण धान खेती हुँदैन ।




