| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा २६०० जना गर्भवती हुँदा आधाजसोले मात्र सन्तान जन्माउँछन्

प्रतीक्षा आले ।
जिल्लामा गर्भवती र सुत्केरी हुनेको संख्यामा बर्सेनी अन्तर बढ्दै गएको छ । गर्भवती भएकामध्य आधाजसोले मात्र सन्तान जन्माउने गरेको तथ्यांक जनस्वास्थ्य कार्यालय गोरखामा भेटिन्छ । बाँकीको अबस्थाबारे कार्यालय पनि अनुमान मात्र गर्न सक्छ, तथ्य दिन सक्दैन ।

गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर २६ सय ७६ जना गर्भवती भएका थिए । जसमध्य एकहजार ४५१ जनाले सन्तान जन्माएका छन् । गत आर्थिकवर्ष जिल्लामा २० वर्षमुनिका ३७६ जना गर्भवती भएका थिए । जसमध्य १८७ जनाले मात्र बच्चा जन्माएका छन् । आर्थिक वर्ष २०८०/८१ मा जिल्लाभर तीनहजार ४६३ जना गर्भवती भएकामा एकहजार ६७२ जनाले बच्चा जन्माएका छन् ।

सो वर्ष २० वर्षमुनिका ३८७ जना गर्भवती भएका थिए । जसमध्य २१४ जनाले मात्र बच्चा जन्माएका छन् । आर्थिक वर्ष २०७९/८० मा भने गोरखामा तीनहजार आठसय ३९ जना महिला गर्भवती भएका थिए । तर, एकहजार ८५० जनाले मात्र बच्चा जन्माएको तथ्याङ्क प्रदेश जनस्वास्थ्य कार्यालयको छ । उक्त आवमा २० वर्षमुनिका ४९४ जना गर्भवती भएका थिए । उनीहरुमध्य जम्मा २३८ जनाले बच्चा जन्माएका छन् ।

सुत्केरी गराउन बाह्य जिल्ला जाने क्रम बढेकाले गर्भवतीको सङ्ख्या र सुत्केरी सङख्यामा झन्डै आधा फरक परेको प्रदेश जनस्वास्थ्य कार्यालयकी जनस्वास्थ्य निरीक्षक सुकुमेल बरालले बताइन् । उनका अनुसार जिल्लाका अधिकांश महिला जिल्लाबाहिर सुत्केरी हुने वा निजीमा गएर सरकारी तथ्याङ्कमा नआउने पनि हुन सक्छन् ।

प्रदेश अस्पताल गोरखाका मेडिकल सुपरिटेन्डेण्ट सिद्धार्थ खनालले गर्भपतन र बाहिरी जिल्लामा सुत्केरी गराउने क्रम बढ्नाले जिल्लामा गर्भवती र सुत्केरीको सङख्यामा ठुलो अन्तर देखिएको हुनसक्ने बताए । ‘प्रदेश अस्पताल गोरखाले गत वर्षको आर्थिकबर्ष अस्पतालमा भर्ना हुन आएका सुत्केरीहरुमध्य जम्मा २५ जनालाई मात्र बाहिर रिफर गरेको छ ।

यसले सुत्केरीहरु जिल्लाको अस्पतालमा नआई सिधैँ बाहिर जाने गरेको देखाउँछ’, उनले भने । यस्तै, जिल्लामा गर्भवती र सुत्केरी बीचको सङ्ख्यामा ठूलो भिन्नता आउनुमा गर्भपतन पनि अर्को प्रमुख कारण हुनसक्ने खनालले जानकारी दिए ।
प्रदेश अस्पताल गोरखाबाटै महिनामा २०–२५ जनाले गर्भपतन गराउने गरेको उनले बताएका छन् ।

उनी भन्छन्, ‘गर्भपतन गराउनेमा प्राय सबै २० वर्षमुनिका नै छन् ।’ कानुनले हाडनाता करणी, बलात्कार वा आमा र शिशुको स्वास्थ्यमा गम्भीर असर पर्ने अवस्थामा मात्र सुरक्षित गर्भपतनको अधिकार दिएको छ । ९ हप्तासम्मको गर्भ औषधि सेवनबाट र १२ हप्तासम्मको गर्भऔजार प्रयोग गरेर फाल्न सकिन्छ । तैपनि लुकीछिपी हुने अवैध गर्भपतन नियन्त्रण गर्न र यसले महिलाको प्रजनन स्वास्थ्यमा पार्ने गम्भीर असरबारे जनचेतना फैलाउनु जरुरी रहेको प्रदेश अस्पताल गोरखाका मेसु सिद्धार्थ खनालले बताए ।

१४ प्रतिशत गर्भवती २० वर्षमुनिका
गत आर्थिक वर्ष जिल्लाभरका स्वास्थ्य संस्थामा गर्भवती जाँच गराउन आएकामध्ये तीनसय ७६ जना २० वर्षमुनिका थिए । अर्थात् कुल संख्याको १४ प्रतिशत । त्यसअघिको वर्ष २०८०/०८१ मा २० वर्षमुनिका गर्भवती १० प्रतिशत रहेको छ । उक्त वर्ष तीनहजार चारसय ६३ जना गर्भवती भएकामध्ये तीनसय ८७ जना २० वर्षमुनिका थिए ।

आर्थिक वर्ष २०७९/०८० मा २० वर्षमुनिको गर्भवती १२.८६ प्रतिशत रहेको थियो । सो वर्ष जिल्लाभरका स्वास्थ्य संस्थामा गर्भवती जाँच गराउन आएका तीनहजार आठसय ३९ जनामध्य २० वर्षमुनिका चारसय ९४ जना थिए । उनीहरुमध्य जम्मा दुईसय ३८ जनाले बच्चा जन्माएका छन् ।

प्रतिक्रिया दिनुहोस्