
पालुङटारको कुसुण्डे इमडाँडा सामुदायिक वन जिल्लाकै उत्कृष्ट
पालुङटार नगरपालिका वडा नं ९ को कुसुण्डे इमडाँडा सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै उत्कृष्ट बनेको छ । शुक्रबार डिभिजन वन कार्यालय गोरखाले कार्य मूल्याङ्कनको आधारमा कुसुण्डे इमडाँडा वनलाई आर्थिक वर्ष २०८१÷८२ को उत्कृष्ट सामुदायिक वन घोषणा गरेको हो ।
भीमसेनथापा गाउँपालिका वडा नं ४ को कालिका सामुदायिक वन उपभोक्ता समिति जिल्लाको दोस्रो उत्कृष्ट सामुदायिक वन उपभोक्ता समिति घोषणा भएको छ । यस्तै, अजिरकोटको कामधुने सामुदायिक वन उपभोक्ता समिति तेस्रो र गोरखा नगरपालिका वडा नं २ को शिखर गँगटे सामुदायिक वन उपभोक्ता समिति जिल्लाको चौँथो उत्कृष्ट सामुदायिक वन घोषणा भएको हो ।
वन कार्यालयले उत्कृष्ट वन समूहहरुलाई शुक्रबार एक कार्यक्रमकाबीच नगद पुरस्कार सहित सम्मान गरेको छ ।
प्रथम, दोस्रो, तेस्रो र चौँथो हुने वन समूहहरुलाई क्रमश रु आठहजार, पाँचहजार, तीनहजार र दुईहजार नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी सागर खतिवडाले बताए ।
डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई पुरस्कृत गरिएको खतिवडाले जानकारी दिए ।




