| सोमवार, कार्तिक २३, २०८३

मनासलु क्षेत्रबाट २४८ जना घाइते तथा बिरामीको हेलीद्वारा उद्धार

गत आर्थिक वर्ष २०८१/८२ मा मनासलु क्षेत्रबाट २४८ जनाको हेलीद्वारा उद्धार भएको छ । गत आवमा मनासलु क्षेत्रबाट २४८ जनालाई उद्धार उडान सिफारिस दिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै, त्यस क्षेत्रबाट एक सय ५१ जनालाई चार्टर उडान सिफारिस दिएको कार्यालयले जनाएको छ ।

प्रशासन कार्यालयले गतवर्ष मनासलु क्षेत्रअन्तरगत चुमनुब्री गाउँपालिकाका ६ जना सुत्केरी महिलाहरुलाई ‘सुत्केरी महिला उद्धार उडान सिफारिस’ दिएको कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । यस्तै, १० जनालाई सामान ओसारपसार गर्न कार्गो उडान सिफारिस दिएको उनले जानकारी दिए ।

सहायक प्रजिअ बरालका अनुसार गतवर्ष जिल्लाभर विपद् प्रभावितलाई दुई करोड ५२ लाख तीनहजार ४८ रुपैँया राहत रकम वितरण गरिएको छ । जिल्लाका विपद् प्रभावितलाई राहतका लागि गतबर्ष संघबाट एक करोड ७० लाख ४५ हजार र प्रदेशबाट ८१ लाख ५८ हजार आएको उनको भनाइ छ ।

कार्यालयले गत आव १३ करोड २५ लाख २४ हजार रुपैँया राजश्व संकलन गरेको छ । हातहतियार नविकरण दस्तुरबापत ५ लाख ५२ हजार ५०० रुपैँया, परीक्षा शुल्क बापत एक लाख ४१ हजार ४०० र राहदानी शुल्कबापत १३ करोड १६ लाख ४१ हजार ५०० रुपैँया राजश्व संकलन गरेको छ । यस्तै, न्यायिक दण्ड जरिवाना र जफतबापत दुईलाख ३८ हजार २४०, प्रशासनिक दण्ड जरिवाना र जफतबापत ४० हजार र अन्य प्रशासनिक सेवा शुल्कबापत १४ लाख २६ हजार ४५० रुपैँया संकलन गरेको बताइएको छ ।

जिल्लामा गत आव १० जनालाई आमाको नामबाट नागरिकताको प्रमाणपत्र दिइएको छ । बंशजको आधारमा सात हजार ७६६ जनाले नागरिकता बुझेका छन् भने १६ जनालाई बैवाहिक अंगीकृत नागरिकता र २६ जनालाई गैरआवसिय नागरिकता वितरण गरिएको छ । यस्तै, आठ हजार ३२७ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाको विवरणमा उल्लेख छ ।

गएको आर्थिक वर्ष जिल्ला प्रशासन कार्यालयले २६ हजार ४५ वटा राष्ट्रिय परिचय पत्रको विवरण संकलन गरेको छ । यसैगरी, आठ हजार सात सय ४० जनालाई तयारी परिचयपत्र वितरण गरेको बताइएको छ । जिल्ला प्रशासन कार्यालयले गत वर्ष ९ हजार ७ सय ९८ वटा ई–पासपोर्टको फारम संकलन गरेको छ ।

यस्तै, ११ हजार ८२ वटा ई–पासपोर्ट वितरण भएका छन् भने ३४० वटा एमआरपी राहदानी वितरण भएका छन् । कार्यालयमा गत वर्ष ३९ वटा मुद्दा दर्ता भएकोमा ३६ वटा मुद्दाको अन्तिम किनारा लगाएको कार्यालयले जनाएको छ । कार्यालयमार्फत गत वर्ष २७ वटा संघसंस्था दर्ता भएका छन् भने ३९३ वटा संघसंस्था नविकरण भएका छन् । यस्तै, ८३ वटा हातहतियार नविकरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्