| आइतवार, कार्तिक २२, २०८३

बूढीगण्डकी डुवान क्षेत्रको बजेट फिर्ता, चालुबर्ष कार्यक्रम शून्य

सामाजिक विकास कार्यालयले बूढीगण्डकी डुवान क्षेत्रमा कार्यान्वयन गर्नका लागि विनियोजन गरेको बजेट फिर्ता भएको छ । योजना कार्यान्वयन हुन नसक्दा ३१ लाख रकम फिर्ता भएर गएको कार्यालयले जनाएको छ । ‘डुवान क्षेत्रमा नयाँ योजना कार्यान्वयनमा रोक लगाइएको छ,’ कार्यालय प्रमुख दशरथ शर्माले भने, ‘तर गत बर्ष हाम्रो पाँच वटा योजना डुवान क्षेत्रमै परेको रहेछ, त्यसैले कार्यान्वयन गर्न सकिएन ।’

भीमसेन थापा गाउँपालिका–८ को दरै गाउँ खेलमैदान घेरावार तथा स्तरोन्नती र घाटवेशी भगवति मन्दिर मर्मत तथा घेरावार निर्माणको योजना कार्यान्वयन हुन नसकेको उनले बताए । उक्त योजनाका लागि ५ लाखका दरले रकम विनियोजन भएको थियो । त्यस्तै भीमसेन थापा गाउँपालिका वडा नम्वर ३ स्थित लक्ष्मीनारायाणधाम बूढीगण्डकी बृद्धाश्रम भवन मर्मत संहारको योजनाका लागि आएको रकम पनि फ्रिज भएको शर्माले जानकारी दिए ।

‘आरुघाट गाउँपालिका–९ स्थित आरुघाट कवर्ड हलको शौचालय तथा पूर्वाधार निर्माणका लागि पनि १० लाख रकम विनियोजन भएको थियो तर काम नभएर त्यो रकम पनि फिर्ता गयो,’ उनले भने । आरुघाट गाउँपालिका–७ को चुरुङ सामुदायिक भवनको अधुरो काम सम्पन्न गर्ने योजना पनि कार्यान्वयन हुन नसकेको उनले बताए । उनका अनुसार उक्त योजनाका लागि ६ लाख रकम विनियोजन भएको थियो । यो बर्ष भने बूढीगण्डकी डुवान क्षेत्रमा कुनै पनि योजना नरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्