
सम्बन्ध बिच्छेद विकराल सामाजिक समस्या
हालका वर्षहरूमा नेपालमा सम्बन्ध विच्छेदका मुद्दाहरूमा निरन्तर वृद्धि भइरहेको छ, जुन हाम्रो समाजका लागि एक गम्भीर चिन्ताको विषय हो । पहिले पारिवारिक र सामाजकि दबाबका कारण सम्बन्ध विच्छेदलाई अन्तिम विकल्पका रूपमा लिइन्थ्यो भने, अहिले यसमा आएको सहजता र सामाजकि स्वीकार्यताले गर्दा मुद्दा दर्ता गर्नेको संख्या बढ्दो छ । यसले नेपाली समाजको परम्परागत पारिवारिक संरचना र मूल्य मान्यतामाथि नै प्रश्नचिह्न खडा गरेको छ ।
सम्बन्ध विच्छेद बढ्नुका पछाडि विभिन्न कारणहरू रहेका छन् । महिलाहरूमा आएको चेतना र आर्थिक आत्मनिर्भरता यसको एउटा प्रमुख पक्ष हो । शिक्षा र रोजगारीको अवसर बढेसँगै महिलाहरू आफ्नो अधिकारप्रति सचेत भएका छन् र उनीहरूमाथि हुने कुनै पनि किसिमको हिंसा वा अन्याय सहन तयार छैनन् । यसले उनीहरूलाई सम्बन्ध विच्छेदको बाटो रोज्न प्रेरित गरेको छ ।
त्यस्तै, सामाजकि सञ्जाल र पश्चिमा संस्कृतिको प्रभाव पनि यसमा जिम्मेवार देखिन्छ । आधुनिक जीवनशैली, व्यक्तिगत स्वतन्त्रताको बढ्दो चाहना र परम्परागत पारिवारिक बन्धनप्रतिको वितृष्णाले सम्बन्धहरूलाई कमजोर बनाउँदै लगेको छ । सञ्चारको अभाव, एकअर्कालाई बुझ्न नसक्नु, दम्पतीबीचको अहमको टकराव र बढ्दो आकांक्षाले पनि सम्बन्धमा दरार ल्याइरहेको छ ।
कतिपय अवस्थामा छोटो समयको प्रेम र हतारमा गरिएका विवाह पनि सम्बन्ध विच्छेदको कारक बनेका छन् । घरेलु हिँसा, मदरिा सेवन, जुवा, परपुरुष वा परस्त्रीसँगको सम्बन्धजस्ता कुराहरूले पनि सम्बन्ध विच्छेदलाई बढावा दिएको पाइन्छ ।
सम्बन्ध विच्छेदले व्यक्ति, परिवार र समाजमा गहिरो नकारात्मक प्रभाव पार्छ । सबैभन्दा बढी प्रभावित हुनेमा बच्चाहरू पर्छन् । बाबुआमाको सम्बन्ध विच्छेदले उनीहरूको मानसिक स्वास्थ्य, पढाइ र भविष्यमा नकारात्मक असर पार्न सक्छ ।
उनीहरूमा एक्लोपन, असुरक्षा र भावनात्मक विचलन देखिन सक्छ । सम्बन्ध विच्छेदले महिलाहरूलाई आर्थिक र सामाजिक रूपमा थप कमजोर बनाउन सक्छ, । समाजमा यसले अस्थिरता र नैतिक पतन ल्याउन सक्छ । सम्बन्ध विच्छेदको बढ्दो दरले विवाहजस्तो पवित्र बन्धनको महत्वलाई कम गर्दै लगेको छ र पारिवारिक मूल्यमान्यतामा ह्रास ल्याएको छ ।




