
उज्यालो नेपालका लागि गोरखाको योगदान
उज्यालो नेपाल अभियानमा अव छिट्टै एउटा इटा थपिँदैछ । राङरुङभन्दा केही माथि घ्याच्चोकको फेदीमा दरौंदी नदी किनारमा १० मेगावाट क्षमताको विद्युत आयोजना निर्माण सम्पन्न हुदैछ । त्यसपछि केन्द्रीय ग्रीडमा १० मेगावाट थप हुनेछ ।
बारपाक दरौंदी हाइड्रोपावर कम्पनीले मध्य सुपर दरौंदी जलविद्युत आयोजना सञ्चालनको अन्तिम तयारी गरेको छ ।
योजनाको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ । आउँदो कात्तिक, मंसीरबाट काम सुरु गरी तीन महिनाभित्र सो ठाउँबाट १० मेगावाट विद्युत उत्पादन हुदैछ । धन्सिराको फेदीमा बाँध बाँधिएको छ । त्यहाँबाट ३.८ किलोमिटर तल राङरुङमा पावर हाउस निर्माण गरिएको छ । पावरहाउस बनिसकेको छ । त्यहाँ मेसिन, उपकरणहरु जोडेर स्वीचयार्ड पनि तयार भइसकेको छ । राङरुङको पावरहाउसमा उत्पादन भएको विद्युत भीमसेनथापा १ घ्याम्पेशालको सवस्टेशनस्थित केन्द्रीय ग्रीडमा ल्याएर जोडिनेछ ।
त्यहाँसम्मको १८ किलोमिटरमध्य १२ किलोमिटर ट्रान्समिशन लाइन तान्ने काम सम्पन्न भइसकेको र ६ किलोमिटर बाँकी रहेको छ । कूल एक अर्ब ६० करोड रुपैयाँ लागतमा आयोजना निर्माण भइरहेको छ । जसमध्य प्राइम कमर्सियल वैंकको ७० प्रतिशत र कम्पनीका सञ्चालक डाक्टर सन्दीप खड्काको ३० प्रतिशत लगानी रहेको छ ।
सो आयोजना भन्दा माथि कालिका हाइड्रोबाट अरु दुईवटा विद्युत आयोजना सञ्चालन हुदैछ । त्यसका लागि अहिले बाटो बनाउने काम सुरु भएको छ । यसअघि चनौटेमा ६ मेगावाटको विद्युत उत्पादन भइसकेको छ । अँबुवामा पनि जलविद्युत आयोजना सञ्चालनको तयारी छ । यसअघि चेपेमा चम्पावती हाइड्रो पावर कम्पनीले विद्युत उत्पादन गरिसकेको छ ।
माछाखोलाको एक ठाउँबाट ४.५ मेगावाट विद्युत उत्पादन भइसकेको छ । अर्को ठाउँमा पनि १० मेगावाट जलविद्युत आयोजना सञ्चालनको तयारी छ । बूढीगण्डकीको धेरै ठाउँमा जलविद्युत आयोजना सञ्चालन हुदैछ । गण्डकी १ बुटारमा पनि सुपर त्रिशुली जलविद्युत आयोजनाको काम ६० प्रतिशत भन्दा धेरै प्रगति भइसकेको छ । यो नेपालका लागि सुखद खबर हो । यसले एकदिन उज्यालो नेपाल अभियान सफल बनाउनेछ । विद्युत बेचेर मनग्य राष्ट्रिय आम्दानी गर्ने अभिलाशा छ ।




