
सुगौली सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रुपमा चिनायो: ढकाल
प्रतिनिधि सभाका सांसद तथा पूर्वमन्त्री एकनाथ ढकालले सुगौली सन्धीले नेपाललाई पहिलो पटक सार्वभौम राष्ट्रका रुपमा चिनाएको बताएका छन् । भीमसेन थापाको जन्मस्थलमा आयोजित २५१ औं भीमसेन जयन्तीको उद्घाटन गर्दै उनले सुगौली सन्धीपछि पहिलो पटक बेलायतले नेपाललाई सार्वभौम राष्ट्रको मान्यता दिएको बताएका हुन् ।
‘नेपालको नक्शांकन गर्ने र त्यसलाई पहिलो पटक अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने काम सुगौँली सन्धीले गरेको हो । सुगौली सन्धी गर्ने तत्कालीन मुख्तियार भीमसेन थापा हुन्’, उनले भने, ‘त्यसैले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने पहिलो मुख्तियारको श्रेय भीमसेन थापालाई जान्छ ।’
कतिपयले सुगौली सन्धीलाई विवादित रुपमा लिए पनि सुगौली सन्धी तत्कालीन आवश्यकता रहेको बताए । भीमसेन थापा बोर्लाङ प्रतिष्ठानले उनको जन्मस्थल गोरखाको बोर्लाङमा सो समारोह आयोजना गरेको हो ।




