
सहिदलखन ७ बाट पालिकाहरुले सिकुन्
सिकाइलाई उमेरको छेकबार हुदैन भन्न त सबैले जान्दछन् । सिनियरहरुले जुनियरहरुबाट सिकिरहेको उदाहरण पनि सबैसामु छ । त्यसैले यो बिषय नौलो रहेन । यहाँ प्रसंग छ सहिद लखन गाउँपालिका वडा नं. ७ को । सहिद लखन ७ ले बिगत तीनबर्षदेखि बजेट तथा कार्यक्रम कार्यान्वयनमा गरेको अभ्यास ज्यादै लोभलाग्दो छ ।
सो वडाले बिगत बर्षदेखि साउन १ गते नै उपभोक्ता समिति गठन गरिसक्छ । अनि पुस, माघ महिनाभित्र सबै बजेट तथा कार्यक्रम कार्यान्वयन गरिसक्छ । यही अभ्यास आँबुखैरेनी गाउँपालिकाले पनि बिगत बर्षदेखि गरिरहेको छ । सो पालिकाले पनि वैशाख महिना लाग्दा नलाग्दै सबै बजेट तथा कार्यक्रम कार्यान्वयन गरिसक्छ ।
यहाँ असार लागेपछि हतार हतार विकास निर्माणको काम सक्ने प्रचलन छ । असार लागेपछि साल तमाम गर्ने भन्दै रातारात मुसलधारे बर्षाका बीच पनि कालोपत्रे गर्ने घटना हामी सामु ताजै छ । यस्तो अवस्थामा सहिद लखन गाउँपालिका ७ ले देखाएको नमूना ज्यादै सह्रानीय छ । जब बर्षे अधिवेशन(बजेट अधिवेशन) सम्पन्न हुन्छ, त्यसले वडाका लागि विनियोजन गरेको बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न सो वडाले उपभोक्ता समिति गठनको गृहकार्य सुरु गरिहाल्छ ।
अनि साउन १ गते सबैले एकसाथ उपभोक्ता समिति गठन गरेको घोषणा गर्छन् । जस्तो कि, यसबर्ष सो वडाका लागि १६ योजना विनियोजन भएको थियो । सो योजना कार्यान्वयन गर्न १६ वटा उपभोक्ता समिति गठन भइसक्यो । अब तत्कालै उनीहरुलाई गाउँपालिकाले अभिमुखीकरण कार्यक्रम गर्छ । बजेट खर्च गर्ने अख्तियारी दिन्छ । बजेट निकासा दिन्छ । उनीहरुले धमाधम कार्यक्रम गर्छन् ।
हिउँदको दिनमा गाउँलेहरुमा खेतीबालीको कामको चाप पनि हुदैन । यसो हुँदा विकास निर्माणको काम गर्ने कामदार पनि प्रशस्त पाइन्छ । अनि यो मितिभित्र काम सम्पन्न गरिसक्नुपर्छ भनेर डेडलाइन हुँदैन । फुर्सदले गरेको काम गुणस्तरको पनि हुन्छ । त्यस्तै वडाबासीले विकास निर्माणको उपभोग बेलैदेखि गर्न पनि पाउँछन् । यसरी हेर्दा धेरै फाइदा हुन्छ ।
एउटा वडाले सुरु गरेको अभ्यास सबै वडा, सबै पालिकाले अनुशरण गर्दा राम्रो हुनेछ ।




