
गोरखामा जंगली जनावरबाट १८५ घरपालुवा पशु मारिए, २६ लाख २६ हजार क्षतिपूर्ति रकम वितरण
प्रतीक्षा आले ।
गोरखामा यसवर्ष जगंली जनावरको आक्रमणबाट १८५ घरपालुवा जनावरको मृत्यु भएको छ । मृत्यु भएका घरपालुवा जनावरको क्षतिपूर्ति बापत जिल्लाभर २६ लाख २६ हजार रुपैँया रकम वितरण गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा वन कार्यालयले बन्यजन्तुबाट घरपालुवा पशुधनमा हुने क्षतिबापत रु १३ लाख ५१ हजार क्षतिपूर्ति रकम वितरण गरेको छ ।
यस वर्ष वन्यजन्तुको आक्रमणबाट जिल्लाभर ९७ वटा घरपालुवा जनावरको मृत्यु भएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए । ‘वन्यजन्तुबाट मारिएकामा अधिकांश बाख्राहरु रहेका छन् । बाख्राको संख्या मात्र ८० प्रतिशत छ । बाँकी गोरु, राँगो, भैँसी, बंगुर आदि छन्’, उनले भने, ‘मनासलु संरक्षण क्षेत्रबाहेक गोरखामा अधिकांश चितुवाबाटै पशुधन तथा मानवीय क्षति हुने गरेको पाइएको छ ।’ यसवर्ष कार्यालयले वन्यजन्तुको आक्रमणबाट घाइते भएका दुईजनालाई उपचारखर्च बापत रु ६० हजार उपलब्ध गराएको उनले जानकारी दिए ।
डिएफओ शाण्डिल्यका अनुसार यसवर्ष कार्यालयले आर्थिक वर्ष २०८०/०८१ र आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तभित्र वन्यजन्तुले घरपालुवा पशुचौपायामा पु¥याएको क्षतिबापत जिल्लाभर २४५ जना पशुधनीलाई ३३ लाख ६९ हजार ५०० रुपैँया रकम राहत स्वरुप वितरण गरेको छ । यस्तै, आर्थिक बर्ष २०८१/०८२ को पुसदेखि बैशाखसम्ममा ६३ जनालाई ८ लाख ५५ हजार ५०६ रुपैँया रकम वितरण गरेको उनको भनाइ छ ।
‘बैशाख यता वन्यजन्तुले घरपालुवा पशुधनमा पु¥याएको क्षतिबापत थप ११ जनालाई एक लाख ५० हजार रुपैँया राहत वितरण गर्नुपर्ने छ । उक्त रकम भने वितरण गर्न बाँकी छ’, उनले भने । राहत वितरण निर्देशिका अनुसार १४ वटा वन्यजन्तुबाट मानवीय र पशुधन क्षति भएमा राहत पाउने व्यवस्था रहेको उनको भनाइ छ ।
यस्तै, यसवर्ष मनासलु संरक्षण क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका ८८ पशु चौपायाबापत १२ लाख ७५ हजार रुपैँया क्षतिपूर्ति वितरण गरिएको छ । यस्तै, वन्यजन्तुको आक्रमणबाट घाइते भएका दुईजनालाई उपचार खर्च बापत एक लाख ४३ हजार रुपैँया वितरण गरिएको मनासलु संरक्षण क्षेत्र आयोजनाका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । शेरचनका अनुसार मनासलु क्षेत्रमा हिउँचितुवा, हिमाली ब्वाँसो र हिउँभालुको आक्रमणबाट चौरीगाई, च्याङ्ग्रा, घोडा, खच्चड, लुलुगाई आदि घरपालुवा जनावरहरुको मृत्यु हुने गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा त्यस क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ८१ पशुचौपायाको मृत्यु भएको थियो । जसको क्षतिपूर्ति बापत सरकारले ९ लाख २२ हजार रुपैँया वितरण गरेको उल्लेख छ । यसैगरी, आर्थिक वर्ष २०७९/०८० मा १४८ पशुचौपायाको मृत्यु भएबापत सरकारले १७ लाख ७६ हजार रुपैँया राहत रकम वितरण गरेको मनासलु संरक्षण क्षेत्र आयोजनाको भनाई छ ।




