| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा अस्पतालबाट यसवर्ष एक लाख १५ हजार बिरामीले लिए सेवा

प्रदेश अस्पताल गोरखाबाट आर्थिक वर्ष २०८१/०८२ मा एक लाख १३ हजार ५०३ जनाले सेवा लिएका छन् । अस्पतालबाट आव २०८०/०८१ मा ९५ हजार ५७७ जनाले सेवा लिएकोमा यस वर्ष सेवाग्राहीहरुको संख्या बढेको हो ।

आव २०८१/०८२ मा १२ हजार ८९७ जनाले अस्पतालबाट आकस्मिक सेवा लिएको प्रदेश अस्पताल गोरखाका मेडिकल सुपरिटेन्डेण्ट सिद्धार्थ खनालले बताए । उनकाअनुसार यसवर्ष अस्पतालबाट एक लाख १३ हजार ६६६ जनाले बहिरंग सेवा लिएका छन् । यसैगरी, तीनहजार ८४४ जना अस्पतालमा भर्ना भएर सेवा लिएको अस्पतालको विवरणमा उल्लेख छ ।

गत आव २०८१/०८२ मा तीनहजार ५२१ जनाले फिजिओथेरापी सेवा लिएका छन् भने दुईहजार ५८४ जनाले ईको सेवा लिएका बताइएको छ । यस्तै सात सय ५३ जनाले डेलिभरी सेवा लिएका अस्पतालले जनाएको छ ।गोरखा अस्पतालमा गतवर्ष एक हजार २९२ जनाको सफल शल्यक्रिया भएको थियो । अस्पतालले अर्थोतर्फ ३३६, गाइनोतर्फ २१६ र सामान्य शल्यक्रियातर्फ ७४० जनाको सफल शल्यक्रिया गरेको हो ।

आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश अस्पताल गोरखाले डिजिटल एक्सरे सेवा, बालबालिकाहरु लक्षित गरेर प्ले रुम सेवा र आयुर्वेद सेवा सुचारु गरेको छ । केही समयभित्र विषेशज्ञद्वारा आँखा जाँच सेवा र इन्डोस्कोपी सेवा सुरु गर्ने लक्ष्य रहेको मेसु खनालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्