| मङ्लबार, अशोज ५, २०८३

रोजगारभन्दा स्वरोजगार बेस

पहिले मानिसहरू राम्रो जागिर पाउनुलाई जीवनकै ठूलो उपलब्धी सोच्ने गर्दथे । त्यसमाथि पनि सरकारी वा ठूला कम्पनीमा रोजगारी पाउनुलाई गर्वका रूपमा हेरिन्थ्यो । हुन पनि आजको विश्वमा रोजगारीको खोजी ठूलो चुनौती बनेको छ । लाखौं युवाहरू उच्च शिक्षा हासिल गरेर पनि बेरोजगारीको मारमा छन् । यस्तो अवस्थामा रोजगारी पाउनु ठूलो सफलता हुन स्वभाविकै हो ।

तर अहिले समय बदलिएको छ, अवधारणा बदलिएको छ । आजका युवा अरुको बशमा रहेर गरिने रोजगारीलाई भन्दा आफ्नै स्वामित्वको प्रतिष्ठानमा स्वरोजगार गर्नुलाई प्रतिष्ठाका रुपमा हेर्ने गर्दछन् । उनीहरु सोच्छन् कि, स्वरोजगार भनेको केवल पैसा कमाउनु मात्र होइन, यो आफ्नो क्षमता, सीप र रुचिलाई पूर्ण रूपमा प्रयोग गरेर केही नयाँ सिर्जना गर्ने अवसर पनि हो । यसले व्यक्तिलाई आत्मनिर्भर बनाउँछ र आफ्नो भविष्यको नियन्त्रण आफैँसँग राख्न मद्दत गर्छ ।

स्वरोजगारले मानिसलाई निर्णय प्रक्रियामा स्वतन्त्रता दिन्छ, जसले गर्दा उनीहरूले आफ्नो कामलाई अझ रचनात्मक र प्रभावकारी बनाउन सक्छन, अरुलाई रोजगारी दिन पनि सक्षम हुन्छन् । व्यक्तिलाई आफ्नो रुचि अनुसारको काम गर्न स्वरोजगारीले प्रेरित गर्छ, जसले इन्नोभेशनमा अगाडि बढाउँछ, नयाँ कामको खोजी, कामप्रतिको लगाव बढ्छ ।

साना तथा मझौला व्यवसायहरूले रोजगारीका अवसरहरू सिर्जना गर्छन् र नयाँ उत्पादन तथा सेवाहरू बजारमा ल्याउँछ । परम्परागत रोजगारीको सीमित घेराबाट बाहिर निस्किएर स्वरोजगारको विशाल सम्भावनालाई अँगाल्नु युवा पुस्ताका लागि उत्तम विकल्प हो । यसले उनीहरूलाई स्वाभिमानी, आत्मनिर्भर, सिर्जनशील र सफल बनाउँछ ।

बारपाक सुलिकोट गाउँपालिका ४ झोलुंगे गाउँका उत्तरकुमार घलेले यसरी नै वैदेशिक रोजगारीको बाटो बन्द गरेर आफ्नै घरबारीमा बाख्रा पालन गरेका छन् । रोजगारीको सिर्जना गरेका छन् । यो उनको प्रशंसनीय काम हो ।

प्रतिक्रिया दिनुहोस्