| मङ्लबार, कार्तिक २४, २०८३

बारपाकमा स्मृति उद्यान ः भूकम्पमा ज्यान गुमाएकाहरुको नामावली राखियो

बारपाकको भूकम्प स्मृति पार्कमा भूकम्पमा परि ज्यान गुमाएकाहरुको नामावली राख्न थालिएको छ ।

हाललाई भूकम्पमा ज्यान गुमाएका गोरखाका ४ सय ९० जनाको नामावली राखिएको संघिय आयोजना कार्यान्वयन एकाइ पोखराले जनाएको छ ।

उक्त स्मृति पार्कमा भूकम्पमा परेर ज्यान गुमाएका १४ वटै जिल्लाका मृतकको नामावली राख्ने गरी छुट्टाछुट्टै स्तम्भमा बनाइएको छ । तर गृह मन्त्रालयबाट अन्य जिल्लाको नामावली प्राप्त हुन नसक्दा हाललाई गोरखाको मात्र नामावली राखिएको कार्यालयका इन्जिनियर पुरुषोत्तम पंगेनीले बताए ।

‘गृह मन्त्रालयमा धेरै पटक पत्राचार भयो, गोरखाबाहेकका अन्य १३ जिल्लाका मृतकको नाम उपलब्ध हुन नसकेपछि केन्द्रीय आयोजना कार्यान्वयन एकाइबाट नै गोरखाका मृतकको मात्र नाम राख्ने निर्णय भएर आइसकेको छ,’ उनले भने, ‘अब अरू जिल्लाका मृतकको नामावली स्मृति उद्यानमा नराख्ने निश्चित भएको छ ।’

२०७४ मङ्सिर १४ गते स्वच्छन्द÷होम निर्माण जेभीसँग ठेक्का सम्झौता भएर स्मृति पार्क निर्माणको काम अघि बढेको थियो । तर नामावली प्राप्त नभएकै कारण योजना सम्पन्न हुन सकेको थिएन ।

सरकारी स्वामित्वको करिब २ सय १६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचा लगायतका अन्य संरचना निर्माण भएका छन् ।

त्यस्तै, स्मृति स्तम्भ मण्डला, मण्डलामा चिप्स राख्ने, रङरोगन, स्मृति उद्यान पुग्ने ४०० मिटर सडक कालोपत्रको काम यसअघि नै सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्