
स्याउखेतीलाई सबैले प्रोत्साहन गरौं
जिल्लाको अजिरकोट गाउँपालिकामा व्यवसायिक रुपमा स्याउ खेती गर्न थालिएको छ । वडा नं. २ को मूलखर्क र नब्लूका दुई वटा स्याउ फर्ममा तीनवर्ष अघि परीक्षणका रुपमा लगाइएको स्याउले यसबर्षदेखि व्यवसायिक उत्पादन दिन सुरु गरेको हो ।
स्थानीय व्यवसायीहरु सञ्जिव लामाले मूलखर्क स्याउ फर्ममा चारसय र भीम तामाङले नब्लू स्याउ फर्ममा चारसय वटा विरुवा रोपेका थिए । पालिकाबाट विरुवामा ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत त्यहाँको २२०० मिटर उचाइमा अवस्थित मूलखर्क जडिबुटी तथा स्याउ फर्ममा र नब्लू स्याउ फर्ममा स्याउ लगाइएको थियो ।
दुवै फर्ममा लगाइएको स्याउका बोटहरुले अनुमानित करिब तीनहजार केजी फल दिएको छ । इटलीबाट ल्याएको फुजी, रेड डेलिसियस र गाला जातको स्याउ परीक्षणका रुपमा लगाएका थिए । पालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा पनि व्यवसायिक स्याउ खेती कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । वडा नम्वर १ र २ मा खेती बिस्तार गरेर स्याउको पकेट क्षेत्र बनाउने गाउँपालिकाको योजना छ ।
यसअघि चुमनुब्री २ ल्हो र चुमनुब्री ४ नाम्रुङमा पनि व्यवसायिक स्याउ खेती गर्न सुरु गरिएको छ । धार्चे ३ को लेकमा पनि स्याउ खेती गरिएको थियो, तर केही उच्छृङ्ख समूहले सो स्याउ फाँडेर नष्ट गरेका छन् । चुमनुब्री ३ को आँगा सस्र्युँ, न्याकमा पनि स्याउ खेती गरिएको छ ।
तर त्यहाँका स्याउ ढुवानीमा जटिलताका कारण राम्रो बजार नपाएको अबस्था छ । अजिरकोट १ र २ मा गरिएको स्याउलाई राम्ररी बजारसम्म पु¥याउने ब्यबस्थामा सरकारी निकायले पनि सहयोग गर्नुपर्छ । साथै व्यवसायिक स्याउ खेती गर्ने किसानलाई सबै क्षेत्रबाट प्रोत्साहत गर्नुपर्छ ।




