
गोरखामा नयाँ ट्रयाक खन्ने कार्यक्रम शून्य हुँदै
शिव उप्रेती ।
गोरखामा नयाँ सडकको ट्रयाक खन्ने कार्याक्रम शून्य हुदै गएको छ । सडक योजना कार्यालय, पूर्वाधार विकास कार्यालय, स्थानीय पूर्वाधार कार्यालय पोखरा र पालिकाहरुले नयाँ ट्रयाक खन्ने कार्यक्रमलाई न्यूनिकरण गर्दै लगेका हुन् ।
कतिपय पालिकाहरुले गत आर्थिक बर्षदेखि नै नयाँ ट्रयाक खन्ने कार्यक्रमलाई अन्त्य गरिसकेका छन् । सडक सञ्जाल विस्तार नभएका हिमाली भेगको चुमनुब्री र दुर्गम भेगमा पर्ने धार्चे गाउँपालिका बाहेक अन्य पालिकाले आउँदो बर्षदेखि नयाँ ट्रयाक विस्तारको कार्यक्रमलाई शून्य बनाएको जनाएका छन् ।
जिल्लाभर सडक निर्माणको जिम्मा लिएको सडक योजना कार्यालयले गत आर्थिक बर्ष जम्मा ३.७ किलोमिटर नयाँ ट्रयाक निर्माण गरेको छ । सूचना अधिकारी आशिक रिजालका अनुसार ३३.७ किलोमिटर कालोपत्रे र १८ मिलोमिटर ग्राभेल गरेको सो कार्यालयले जम्मा तीन किलोमिटर मात्र नयाँ ट्रयाक निर्माण गरेको हो ।
त्यस्तै सडक निर्माणको धेरै काम गरिरहेको पूर्वाधार विकास कार्यालय गोरखाले जम्मा १२ किलोमिटर नयाँ ट्रयाक निर्माण गरेको जनाएको छ । कार्यालय प्रमुख गणेश सुवेदीका अनुसार सो कार्यालयले २१.७ किलोमिटर कालोपत्रे र ९.३६ किलोमिटर ग्राभेल गरेको थियो ।
गोरखा नगरपालिकाले गत आर्थिक बर्ष कुनै पनि नयाँ ट्रयाक निर्माण नगरेको इञ्जिनियर प्रकाश ढकालले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठका अनुसार आरुघाट गाउँपालिकामा पनि नयाँ सडक कत्ति पनि निर्माण भएको छ्रन । बारपाक सुलिकोट गाउँपालिकाले पनि कुनै पनि नयाँ ट्रयाक निर्माण नगरेको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत चित्र अधिकारीले भीमसेनथापा गाउँपालिकामा पनि सडकको नयाँ ट्रयाक निर्माण गरिएन । सिरानचोक गाउँपालिकामा पनि नयाँ ट्रयाक कत्तिपनि निर्माण नगरिएको प्रमुख प्रशासकीय अधिकृत ठाकुर अर्यालले जानकारी दिए । ‘गत आर्थिक बर्ष १५३ मिटरमात्र नयाँ ट्रयाक खन्यौं’, सहिद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले भने, ‘आउँदो आर्थिक बर्ष त नयाँ ट्रयाक खन्ने कार्यक्रम कुनै पनि छैन । बनिसकेका सडकलाई स्तरोन्नति गर्ने कार्यक्रम मात्र छ ।’
पालुङ्टार नगरपालिकाले भने गत आर्थिक बर्ष २२ सय ७५ मिटर नयाँ ट्रयाक निर्माण गरेको जनाएको छ । १२ सय ५० मिटर सडक कालोपत्रे, २३ सय ४५ मिटर आरसिसी ढलान र ४२ सय ८० मिटर सडक ग्राभेल गरेको सो नगरपालिकाले आउँदो बर्ष भने नयाँ ट्रयाक खन्ने कार्यक्रम नरहेको इञ्जिनिर नविन पोखरेलले जानकारी दिए ।
सदरमुकामबाट टाढा रहेको अर्को अजिरकोट गाउँपालिले गत आर्थिक बर्ष दुई किलोमिटर सडकको नयाँ ट्रयाक खनेको छ । हिमालपारिको चुमनुब्री गाउँपालिकामा नेपाली सेनाले दुई किलोमिटर नयाँ सडकको ट्रयाक खनेको जनाएको छ । तिब्बती सीमाना जोड्ने लक्ष्यका साथ १६० किलोमिटर सडक निर्माणमा जुटिरहेको नेपाली सेनाले गत आर्थिक बर्ष दुई किलोमिटर ट्रयाक निर्माण गरेको पूर्णचन्द्र ढकालले जानकारी दिए ।
गण्डकी गाउँपालिकाले पनि गत आर्थिक बर्ष ४५ सय मिटर नयाँ सडकको ट्रयाक खनेको छ । त्रिशुली वारि पृथ्वीराजमार्गको समानान्तर राजमार्ग निर्माण गर्ने बहुबर्षीय कार्यक्रम अन्तर्गत गत आर्थिक बर्ष ४५ सय मिटर ट्रयाक निर्माण गरेको योजना शाखाका गोपी कोइरालाले जानकारी दिए ।




