
मनसुनभर राती अतिआवश्यक कामबाहेक सवारी चलाउन रोक
गोरखाको ग्रामीण क्षेत्रमा मनसुन अवधिभर रात्रीकालीन समयमा अति आवश्यक कामबाहेकका समयमा यातायात संचालन सञ्चालनमा रोक लगाइएको छ । समन्वय समितिको आइतबार बसेको बैठकले मनसुनको समयमा आउन सक्ने बाढी पहिरोको कारण सडक/राजमार्ग अवरोध हुन सक्ने अवस्थामा रात्रीकालीन यातायात पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको हो ।
रातको समयमा यातायात सञ्चालन गर्दा बाटो माथिबाट आउने सक्ने पहिरो नदेखिने एवं ठुलो दुर्घटना हुन सक्ने परिस्थितिलाई मध्यनजर गरेर सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको छ । ग्रामीण क्षेत्रको १४ रुटमा चल्ने सवारीलाई पनि मनसुन अवधिभर चल्ने ठाउँ तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए ।
सडकमा पहिरो गएको खण्डमा तत्काल खुलाउन उपकरण सहितको प्रबन्ध मिलाउने तोकिएका निकायलाई निर्देशन दिइएको उनले बताए । बाढी पहिरोका सूचना जतिसक्दो छिटो नजिकका सुरक्षा निकायलाई प्रदान गर्न पनि आग्रह गरिएको छ । ठूलो पानी परिरहेको अवस्थामा राजमार्गमा समेत रात्रीकालिन यातायातलाई पूर्ण रुपमा बन्द गराउने जनाएको छ ।




