| मङ्लबार, कार्तिक २४, २०८३

आफ्नै बुबाबाट सुरक्षित छैनन् छोरीहरु

गत असार १४ गते जिल्ला प्रहरी कार्यालय गोरखामा एउटा फोन आयो । फोन गर्ने व्यक्ति गोरखा नगरपालिका ११ को एक विद्यालयमा पढाउने शिक्षिका थिइन् । उनले प्रहरीलाइ्र्र आफ्नो विद्यालयमा अध्ययनरत्त ११ वर्षकी चन्दा (नाम परिवर्तित)लाई आफ्नै बुबाले जबरजस्तीकरणी गरेको जानकारी दिइन् ।

प्रहरीले तत्कालै चन्दाको घर पुगेर उनको बुबालाई नियन्त्रणमा लियो । हाल चन्दाको बुबालाई बालयौन दुव्र्यवहार शीर्षकमा गोरखा जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । चन्दाकी आमा शारीरिक रुपमा फरक क्षमताकी थिइन्, बुबा जँड्याहा । बुबाले सँधै जाँडले मात्तिएको बेला अरुलाई जस्ताको तस्तै भन्न नमिल्ने कामहरु गर्ने गरेको चन्दाको भनाई छ । उनले मात्र त्यो पीडा खेपेकी पनि होइनन् । उनका तीन दिदीहरु थिए । दिदीहरुले बुबाबाट पाएका यौनजन्य दुव्र्यवहार उनले सानो छँदै सुनेर अघाएकी थिइन् ।

चन्दाको घटनाभन्दा १५ दिनअघि जिल्ला प्रहरी कार्यालयमा त्यस्तै प्रकृतिको अर्को घटना दर्ता हुन आएको थियो ।
गोरखा नगरपालिका ५ की १७ बर्षकी गुनमाया(नाम परिवर्तित)लाई पनि घरमा बस्नै मन लाग्दैन । शारीरिक, मानसिक रुपमा अशक्त उनलाई रेखदेख, स्याहासुसार गर्नुपर्ने बुबाले नै सँधै यौन शोषण गरेपछि उनलाई न घरमा बस्न मन लाग्छ, न भागेर कतै जान सक्छिन् ।

पारिवारिक बिखण्डनका कारण आमा घरमा बस्दिनन् । त्यसको झोक बुबाले बर्षौँदेखि उनीमाथि थोपर्दै आएकाछन् । हरसाँझ रक्सी धोकेर डरत्रास, धाकधम्की देखाएर बुबाबाट यौन शोषणको सिकार बन्ने उनको नियति जस्तै बनेको छ ।
सहनै नसक्ने भएपछि छरछिमेकले घटनाबारे प्रहरीलाई जानकारी गराए । प्रहरीले उनका बुबालाई नियन्त्रणमा लियो । जबर्जस्ती करणी शीर्षकमा अदालतमा मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाको एसपी भरतबहादुर बिकले जानकारी दिए ।

घरमा नरकको जीवन भोग्ने अर्की पात्र हुन् गोरखा नगरपालिका ८ की १५ बर्षीया मनुमाया (नाम परिवर्तित) । आमा उनकी विदेशमा छिन् । घरमा उनका भाइ, उनी र बुबा मात्र बस्छन् । बेलुकी भान्साको धन्दा सकेर ओछ्यानमा गएपछि बत्ती निभाएर बाउले रक्सीको मातमा तानेर उसकै ओछ्यानमा लगेको र यौन शोषण गरेको मनुमाया बताउँछिन् । घरलाई नरक बनाउने उनका बुबालाई प्रहरीले पक्राउ गरी जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रहरीमा जानकारीमा आएकाबाहेक पनि यस्ता धेरै घटनाहरु गाउँबस्तीमा छन् । ‘घटनाको प्रकृति, र परिवेश अध्ययन गर्दा विशेषगरी आर्थिक, सामाजिक रुपमा पछाडि पारिएका समुदायमा यस्तो घटना बढि घटिरहेका छन्’, एसपी भरत विक भन्छन्, ‘शिक्षा, चेतनाको अभाव, मादक पदार्थ सेवन, पारिवारिक रुपमा बिखण्डन भएका घर परिबारमा यस्ता घटना बढि हुने गरेको पाइएको छ ।’

प्रतिक्रिया दिनुहोस्